१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको शुक्रबार निधन भएको छ। उनको मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ।

लोकतन्त्रका लागि आफूलाई उत्सर्ग गर्न पनि पछि नपर्ने सरल र शालिन व्यक्तित्व श्रेष्ठको निधनप्रति काँग्रेस केन्द्रीय कार्यालयले दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

साथै मङ्सिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ। मङ्सिर २९ गतेका लागि पूर्वनिर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरु भने सूचारु रहने मुख्य सचिव पौडेलले जानकारी दिए।

यसैगरी काँग्रेसको सङ्घीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि शोक वक्तव्यमार्फत नेता श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेका छन्। उनी विसं २०१८ मा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बम काण्डमा पक्राउ परेका थिए।

नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन/संघर्षका क्रममा उनले ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन विताएका थिए। ३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य थिए।

श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँको सभापति थिए। श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए। विसं २०७२ मा उनलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो। स्व श्रेष्ठका एक छोरा र तीन छोरी छन्।

प्रकाशित: २७ मंसिर २०७७ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App