१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन सहसचिव थप्ने पराष्ट्रको प्रस्ताव लोकसेवाद्वारा अस्विकार

परराष्ट्र सेवाका थप ३ पदमा विज्ञापन खुलाउन परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई लोकसेवा आयोगले अस्विकार गरेको छ। आयोगले बुधबार विज्ञापन खुलाउनु अघि परराष्ट्र सेवाका थप ३ वटा दरबन्दी माग गर्न परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीहरू मंगलबार साँझ आफैं अनामनगरस्थित आयोगको कार्यालयमा पुगेको थिए। तर आयोगका कर्मचारीहरूले समय गुज्रेको कारण देखाउँदै परराष्ट्रको प्रस्तावलाई अस्विकार गरेका छन्। आयोगले परराष्ट्र सेवाका ५ सहसचिव र ३ उपसचिव पदमा विज्ञापन खुलाएको छ। परराष्ट्रले भने सहसचिवमा ८ र उपसचिवमा ३ पदमा विज्ञापन गर्न आग्रह गरेको थियो।

आयोगका सूचना अधिकारी देवी सुवेदीले परराष्ट्र सेवाका थप ३ पदमा दरबन्दी खुलाउन मंगलबार साँझ परराष्ट्र मन्त्रालयका कर्मचारीहरूले आग्रह गरेको स्विकार गर्दै भने,‘समय गुज्रीसके पछि मंगलबार साँझ उहाँहरू(परराष्ट्र सेवाका उच्च कर्मचारीहरू)बाट आग्रह आएको थियो,हामीले स्विकार गरेनौ।’ स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका उपसचवि यदु पौडेल र तेज बहादुर क्षेत्रीले सामान्य मन्त्रालयको चिठी बोकेर मंगलबार साँझ आयोगको कार्यालय पुगेका थिए। आयोगका कर्मचारीहरुले भने गोरखापत्रमा सूचना पठाइसकेको बताउँदै अब परिमार्जन गर्न नसकिने जानकारी गराएका थिए।

परराष्ट्रले गरेको आग्रहलाई आयोगले स्विकार गरेको भए परराष्ट्रका थप ३ उपसचिव सहसचिवमा बढुवा हुन बाटो खुला हुने थियो।

आयोगले विज्ञापन खुलाउनु अघि सामान्य मन्त्रालयले रिक्त पदहरुको विवरण आयोगमा पठाउने गर्छ। उक्त विवरणको आधारमा आयोगले विज्ञापन खुलाउछ तर मंगलबार परराष्ट्रका उच्च कर्मचारीहरु सामान्यको चिठी आफै बोकेर ३ पदमा थप विज्ञापन खुलाउन माग गर्दै आयोगमा पुगेका थिए। ‘यो भनेको प्रक्रिया बाहिर हो,’आयोगका एक कर्मचारीले भने। आयोग पुग्नु अघि परराष्ट्रका उपसचिवहरुले सामान्यलाई समेत दबाब दिएका थिए। सामान्यका कर्मचारीहरूले परराष्ट्रको दबाब स्विकार गर्दै परराष्ट्रले भनेको जस्तो चिठी बनाएका थिए।

आयोग स्रोतका अनुससार परराष्ट्रबाट सुरुमा २ सहसचिव पद विज्ञपापन खुलाउन प्रस्ताव गरिएको थियो। पछि यसलाई संशोधन गर्दै अरु ३ वटा पदमा विज्ञापन खुलाउन परराष्ट्रले समान्यमार्फत आग्रह गर्यो। दोश्रो पटक फेरि आग्रह गर्यो। दोश्रो पटक गरिइएको आग्रहलाई आयोगले अस्विकार गर्यो।

आयोगले असोज महिनाकोअन्तिम बुधबारबाट विज्ञापन खुलाउन सुरु गर्छ। यो क्रम चैत महिनाको अन्तिम बुधबारसम्म रहन्छ। असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञपान खुलाउन गर्छ। आयोगले यस वर्ष करिब साढे ५ सय पदमा सहसचिव र उपसचिवमा दरबन्दी खुलाएको छ।

यता, आयोगले कोरोना भाइरस संक्रमितलाई परीक्षा दिन रोक लगाउने निर्णय तत्काल फिर्ता लिन विज्ञहरूले आग्रह गरेका छन्। संक्रमितले परिक्षा दिन नपाउनेगरी आयोगले बनाएको मापदण्डले परीक्षा दिन पाउने नागरिकको मानवअधिकारको ठाडो उल्लंघन भएको उनीहरूले दाबी गरेका हुन्। कोरोना संक्रमण भएकै कारणबाट लोकसेवा आयोगको परीक्षा दिन नपाउने भनी आयोगले गरेको व्यवस्था उपयुक्त नभएको बताउँदै आयोगका पूर्वसदस्य गोविन्द कुसुमले भने, ‘बरु कोरोना संक्रमितहरुलाई छुट्टै कोठामा राखेर परिक्षा दिने व्यवस्था मिलाउनुपर्छ। संक्रमित भएकै कारण परीक्षा दिनपाउँदैन भन्नु ठिक होइन।’

आयोगले बनाएको मापदण्डमा कोरोना संक्रमितहरु परिक्षा हल भित्र प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ। तर,संक्रमण भए/नभएको घोषणा भने परीक्षार्थी आफैले गर्नु पर्ने व्यवस्था गरिएको छ। पूर्व प्रशासक शारदाप्रसाद त्रितालले कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित गर्दा उनीहरुको अधिकार उल्लंघन हुनेदाबी गरे। आयोगले बनाएको मादण्डमा एक सय जना व्यक्तिकोलागि एउटा परीक्षा केन्द्र बनाउनु पर्ने, एउटा कोठामा बढीमा २५ जना व्यक्तिलाई राख्नु पर्ने, एउटा व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा २ मिटर फरक हुनु पर्ने, एउटा वेञ्चमा एक जना व्यक्ति मात्र बस्नु पर्ने, परिक्षा हल भित्र प्रवेश गर्दा र परीक्षा हलबाट निस्कदा कम्तीमा २ मिटर भौतिक दुरी कायम हुनु पर्ने लगायतका मापदण्ड राखिएका छन्।

यसैगरी परीक्षार्थीहरुले स्यानीटाइजर मास्क अनिवार्य लगाउनु पर्ने, परिक्षा हलमा आकस्मिक प्रयोजनकोलागि कम्तीमा २० थान मास्क र ५सय एमएल स्यानीटाइजर राख्नु पर्ने लगायतका व्यवस्था गरिएको छ। आयोगले आगामी बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने तयार गरेको छ।

 

प्रकाशित: २९ आश्विन २०७७ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App