९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

६ महिनासम्म पनि केन्द्रीय समितिविहीन जसपा

जनता समाजवादी पार्टीले ६ महिनासम्म पनि केन्द्रीय समिति गठन गर्न सकेको छैन। केन्द्रीय समिति गठन गर्न पटकपटक छलफल र गृहकार्य भए पनि शीर्ष नेताहरू अझै टुंगोमा पुगेका छैनन्। विभिन्न बहाना देखाउँदै नेताहरूले केन्द्रीय समिति गठन गर्न अलमल गरेका छन्।  

पछिल्लो समय पार्टीअध्यक्ष महन्थ ठाकुरले बिरामी भएको कारण देखाएका छन्। केही दिनअघि ठाकुरले नर्भिक अस्पतालमा मुटुसम्बन्धी पुरानो रोगको फलोअप गरेका थिए। अहिले उनी डिस्चार्ज भइसकेका छन्। तापनि पार्टीका नेताहरूले ठाकुर पूर्ण रूपमा स्वस्थ भएपछि मात्र केन्द्रीय समिति गठन हुने जनाएका छन्। जसपाका नेता राजेन्द्र महतोले ठाकुर बिरामी भएकाले केन्द्रीय समिति बन्न नसकेको भन्दै अब तत्काल गठन हुने जनाए। कोरोना महामारीका कारण पनि केन्द्रीय समिति गठन हुन ढिलो भएको उनको भनाइ छ।  

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादीबीच एकीकरण भई जसपा गठन गरिएको थियो। तर अहिलेसम्म न राजनीतिक समिति बनेको छ, न केन्द्रीय समिति। ‘केन्द्रीय समिति गठन हुन निकै ढिलो भइसकेको छ। अब तत्काल गठन हुनु पर्छ,’ तत्कालीन राजपाका केन्द्रीय सदस्य सवर प्रजापतिले भने।  

तत्कालीन समाजवादीमा भागबण्डाको समस्या छैन।  सबै निर्णय उपेन्द्र यादवले गर्ने गरेका छन्। तर तत्कालीन राजपाका ६ जना नेताबीच भागबण्डाको समस्या पटकपटक देखिएको छ।

निर्वाचन अयाोगमा पार्टी दर्ता हुँदा ५१ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ। पार्टीको विधानमा कार्यकारिणी समिति, राजनीतिक समिति र केन्द्रीय समितिको व्यवस्था गरिएको छ। तर राजनीतिक समिति र केन्द्रीय समिति गठन नहुँदा पार्टीका कार्यकर्ताबाट पार्टीका शीर्ष नेता चर्को दबाबमा परेका छन्। पार्टीका नेताले कार्यकारिणी समतिमिा नअटाएकालाई राजनीतिक समिति र केन्द्रीय समितिमा राख्ने आश्वासन दिएका छन्। पार्टी नेता महतोका अनुसार केन्द्रीय समिति ७ सय १ सदस्यीय र राजनीतिक समिति १ सय ५१ सदस्यीय हुने छ।  

पार्टीका नेताहरूले विभिन्न कारण देखाए पनि केन्द्रीय समिति गठन नहुनुको मुख्य कारण भागबण्डा नमिलेरै हो। तत्कालीन समाजवादीमा भागबण्डाको समस्या छैन। सबै निर्णय उपेन्द्र यादवले गर्ने गरेका छन्। तर तत्कालीन राजपाका ६ जना नेताबीच भागबण्डाको समस्या पटक पटक देखिएको छ। भागबण्डा मिलाउन तत्कालीन राजपाका ६ अध्यक्षले धेरै पटक छलफल गरे पनि टुंगोमा पुगेका छैनन्।

प्रकाशित: १५ आश्विन २०७७ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App