११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगरौं : कुलमान

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् । प्रबन्ध निर्देशक घिसिङले विहीबार प्रेस विज्ञप्ती जारी गरेर बिगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र मेरो गलत एकाउन्ट बनाई सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरू हासिल भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।  

‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरू र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,’ घिसिङले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरूको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु ।’ 

मन्त्रिपरिषद्को २०७३ भदौ २९ गते बसेको बैंठकले घिसिङलाई चार वर्ष प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी भदौं २९ गते सकिदैंछ ।

प्रकाशित: ११ भाद्र २०७७ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App