९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘भौगोलिक अखण्डता अक्षुण्ण राख्न सरकार कटिबद्ध’

देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ। प्रधानमन्त्री केपी ओलीले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न सरकार कटिबद्ध रहेको बताएका छन्। राष्ट्रका नाममा शुक्रबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको हुन सक्ने औंल्याए।  

‘म आश्वस्त पार्न चाहन्छु, आमनेपालीबीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ,’ उनले भने। बाढीपहिरो, भूक्षय, आगजनी, चट्याङ, भूकम्पजस्ता विभिन्न खालका प्राकृतिक विपत्तिको नेपाल सधैं उच्च जोखिममा रहेको बताउँदै उनले अहिले सुरक्षा निकाय र विभिन्न तहबाट नागरिकहरू उद्धार कार्यमा खटिरहेको र पार्टीका कार्यकर्तालाई पनि उद्धार कार्यमा खट्न आग्रह गरेका छन्।  

‘हरेक वर्ष गर्मीयाममा हामीले आगजनीको समस्या भोग्नुपरेको हुन्छ र वर्षात्सँगसँगै बाढीपहिरोका कारणले क्षति बेहोर्नुपरेको हुन्छ। विपत्मा परेर घरबार गुमाउने र जिउधनको क्षति बेहोर्नुपर्ने समस्या हामी नेपालीको नियतिजस्तै बन्ने गरेको छ। यस क्रममा सरकारले तत्काल उद्धार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामथ्र्यका साथ ध्यान दिँदै आएको छ,’ उनले भने। ‘जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकायहरू बाढीपहिरो सुरु भएदेखि नै तत्परताका साथ उद्धार र सहयोग कार्यमा जुट्दै आएका छन्,’ उनले थपे, ‘नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकका साथमा रहँदै आएको छ।’

प्रधानमन्त्री ओलीले यतिबेला आफ्नो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताए। महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन नमिल्ने उल्लेख गर्दै उनले विपत्ति आइलागेका ठाउँमा सरकारका तीनवटै तह, जनप्रतिनिधि, राजनीतिक नेता–कार्यकर्तालाई एकजुट भएर उद्धार, सहयोग र तत्काल उपचारका काम अघि बढाउन अनुरोध गरे।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको संकट हटिनसकेको बताउँदै त्यसको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि मुलुक सम्पूर्ण रूपमा केन्द्रित रहेको र कोरोनाबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागिपरेको उल्लेख गरे। ‘असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपाली कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेहरूको संख्या ३५ रहेको छ, जुन कुल संक्रमितहरूको ०.२१ प्रतिशत हो,’ उनले भने, ‘उमेर समूहका हिसाबले २१ वर्षमाथि र ४० वर्षमुनिका संक्रमितहरूको संख्या ६० प्रतिशतभन्दा बढी रहेको छ। यसबाट स्पष्ट हुन्छ, संक्रमितहरूमध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ।’ कुल संक्रमितको ४८.१ प्रतिशत अर्थात् आठ हजार ११ जना निको भएर घर फर्किसकेको बताउँदै ओलीले अझै कुल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा र २३ हजार नौ सय १० जना क्वारेन्टिनमा रहेको बताए।

प्रकाशित: २७ असार २०७७ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App