६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी हुन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले पछिल्लो समय ससाना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यसकिसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताए।

‘राष्ट्रपतिविरुद्ध लगातार, अनवरत, हरेक स–साना निहुँमा आक्रमणको तारो बनाइन्छ। मैले त्यसलाई गणतन्त्र विरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु। के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुपलागेर बस्ने राष्ट्रपति चुप लागेर बस्या छ। त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुपथ्र्यो ?”

राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा उनले जोड दिए। राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उनले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गरे।

उनले भने, ‘गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन्। कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जे मा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन। दुवो काटेर चौरी चिटिक्क पारियो। अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्ने ? अनि राष्ट्रपतिले कोरोनाका विरुद्ध नलड चौरी चिटिक्क पार् भन्या हो र ?’

कोरोना नियन्त्रणमा अधिकतम उपलब्धि हासिल

प्रधानमन्त्री ओलीले सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि हासिल दाबी गरे। उनले सरकारका कामसंग आफु सन्तुष्ठ रहेको पनि बताए।

उनले भने, ‘कोरोना यस सरकारको कमजोरीका कारण आएको होइन। विश्वव्यापी रुपमा आएको छ। प्रभावकारी ढंगले सामना गरिरहेको छ। भुटान बाहेक अरु देशको तुलनामा नेपालको राम्रो छ। विश्वव्यापी महामारीको सामाना प्रभावकारी ढंगले गरिरहेको छ ÷गर्ने छ। कोरोनाबाट देशलाई मुक्त गर्छ। सरकारले अघि सारेको दृष्टिकोण, हासिल गरेका उपलब्धि कुन चाही कुरामा असन्तुष्ठ हुनुपर्ने छ ? कोरोनाका कारण उत्पादन वृद्धि दर हासिल भएन, यो सरकारको कमजोरी हो र ? यसलाई आलोचना गर्ने विषय पाईयो भन्ने हो ?’

उनले भैसी व्यापारीले किन्ने मान्छे आएपछि दुध भन्दा चिल्ला सिंङ देखाउने गरेको प्रसंग उल्लेख गर्दै सरकारका राम्रा काम भन्दा अन्यत्र ध्यान केन्द्रीत गराउने प्रयास भएको गुनासो गरे। जहाजका कुरा गर्दा सरकारलाई उडाउने गरिएको स्मरण गर्दे उनले आफ्नै झण्डा राखेर पानी जहाज चलाउने तयारीमा सरकार लागि रहेको स्पष्ट पारे।

नेपालीहरुमा कोरोना रोगप्रतिरोधी क्षमता बढी भएको भनेर कसले भनेको भन्ने सांसदको प्रश्नमा उनँले ठट्याउली शैलीमा भने ‘नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यो भन्नुभयो, मैले भने भर्रखरै सुन्नुभयो नि। ” उनले नेपालीहरुको नमस्ते गर्ने शैली सबैले अनुसरण गरेको दृष्टान्त दिदै आर्युवेद, योग लगायत नेपालको औषधीजन्य वनस्पतिको लामो व्याख्या गरे।

अर्कै रोगका कारण मृत्यु भएको भएपनि कोरोना पोजेटिभ देखिएपछि विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुरुप कोरोनाबाट मृत्यु भएको मान्नु परेको भन्दै उनले कोरोना नियन्त्रणमा सरकारका काम प्रभावकारी भएको दाबी गरे। उनले भने, ‘कमजोरी लुकाउनुपर्ने? अरु देशमा त्यत्रो नोक्सानी परया छ। त्यतिका मान्छे मरेका छन्। त्यहाँ लुकाउनु नपर्ने। यहाँ १५ जना मर्दा कमजोरी लुकाउनुपथ्र्यो ? कोरोनाबाट अरु मर्न नदिने हाम्रो प्रयास छ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिने कार्य स्वभाविक भएको भन्दै सरकारी निर्णयको प्रतिरक्षा गरे। विगतमा पनि सेनाले हतियार, हेलिकोप्टर प्लेन लगायत किन्ने गरेको र त्यतिबेला व्यापारीक नभएर अहिले व्यापारीक भन्ने नमिल्ने तर्क उनले गरे। उनले नेपाली सेनालाई नेपाल सरकार भन्दा बाहिरको संस्था भए जस्तो व्यवहार गर्न नमिल्ने तर्क गरे।

उनले भने, ‘राम्रो कुरा गर्न नजान्ने, नगर्ने र नराम्रो कुरा गर्नु धर्म ठान्ने देखिएको छ। खरिद नगर्दा पनि भएन। खरिद गर्दा पनि भ्रष्टाचार बाहेक केही नदेख्ने। केही उद्देश्यसाथ लाग्ने।’

उनले विपद् व्यवस्थापनका सम्बन्धमा गृहमन्त्रालयको भूमिका नखोसिएको भन्दै भ्रमपूर्ण कुरामा नपर्न आग्रह गरे। उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसारका संरचनाले प्राकृतिक प्रकोपलाई मात्रै सम्बोधन गरेको र महामारीलाई सम्बोधन नगरेकाले अर्को संयन्त्र गठन गर्नुपरेको स्पष्ट पारे।

उनले भने, ‘विशाल गु्रुप भन्या कुन हो। जथाभावी नै बोल्ने हो भने त बेग्लै कुरा हो। यस्तो कुराहरु सांसदजस्तो जनप्रतिनिधिले बोल्दा ध्यान दिनुपर्ने हुन्छ। सरकारको त्यस तर्फ ध्यान गएको छ। कही कुनै प्रकारको अनियमितता र अनुचित कुरा भएको पाईए छानविन हुने र कारवाही हुन्छ। यो सरकार राष्ट्रिय हितको पक्षमा काम गर्ने स्पष्ट पार्छु।’

भारतीय पक्षबाट बाँध

उनले भारतीय पक्षबाट बाटोको नाममा बाँध बनाउदै गरेको जानकारी गराउदै त्यस्ता कार्य असल छिमेकी र अन्तराष्ट्रिय कानुन विपरित भएकाले त्यसबारे नेपाल सरकारले भारतलाई सजग गराइरहेको बताए।

उनले भने, ‘अहिले सुन्छु फेरि कतिपय ठाउँमा भारतले बाटोको नामका बाँध बनाउँदै छ। यी कुरातर्फ हाम्रो ध्यान गएको छ र त्यसको विरोधमा भारतलाई सजग गराइरहेका छौ। छिमेकी भएर छिमेकीको खेत डुबानमा पार्ने गरी बाटा, संरचना केही पनि निर्माण गर्न पाइदैन। अन्तराष्ट्रिय कानुनले पनि पाईदैन। असल छिमेकीको हिसाबले पनि पाईदैन। त्यसकारण भारतले यस्तो गर्न मिल्दैन।’

उनले भारत सरकारले पछिल्ला गल्ति सबै सच्याउनुपर्ने बताए। न्यायोचित कुराको हकमा लड्न हिचकिचाउने सरकार नभएको र सार्वभौम समानताको नीतिको आधारमा व्यवहार गर्ने गरेको तथा सोही अनुरुप अघि बढ्ने स्पष्ट पारे।

प्रधानमन्त्रीको क्षेत्रको बजेट, पदाधिकारी

उनले प्रधानमन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट गएको भन्ने कुराको पनि खण्डन गरे। आफ्नो क्षेत्रलाई मात्रै विकास गर्नुपर्छ भन्ने कुरा आफुले पनि थाहा नपाएको विषय भएको भन्दै उनले व्यंग्य गरे।

उनले भने, ‘मेरो क्षेत्रमा बजेट बढी पर्यो भन्ने कुरा सत्य होइन। त्यस्तो पर्न गएको भए त्यो उचित होइन। त्यसलाई म स्वीकार गर्दिन।’

सरकार संबैधानिक निकायका पदाधिकारी नियुक्तिमा सहमतिका साथ अघि बढ्न चाहेको र पछिल्लो समय सहमति बन्दै गएकाले छिट्ै गठन र पदाधिकारी नियुक्त हुने बताए। उनले निजगढमा मिलिट्री एयरवेस स्थापना गर्ने विषयमा सत्यता नभएको स्पष्ट पारे। उनले भने, ‘फेरी अर्को हल्ला सुरु गरिएछ। यो हल्ला किन सुरु गरेको हो। निजगढमा बन फाडेर मिलिट्री एयरवेस स्थापना गर्ने भन्ने। यस्तो भ्रमको श्रृजना किन गर्नुपरयो। यसमा कुनै आधार र सत्यता छैन। ”

रुकुम घटना

प्रधानमन्त्री ओलीले रुकुम पश्चिमको घटनालाई सरकारले गम्भीरताका साथ लिएको भन्दै निष्पक्ष ढंगले छानविन हुने प्रतिवद्धता जाहेर गरे। घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिएको भन्दै उनले  गम्भीरता र निष्पक्ष ढंगले छानविन हुने आश्वासन दिए। संसदले संसदीय समिति बनाएको र त्यसको छानविनले पनि सरकारलाई मद्दत पुरयाउने विश्वास व्यक्त गरे। घटनाको पृष्ठभूमिमा जातीय छुवाछुत, सामाजिक विकृतिका कुरा देखिनु उचित नहुने भन्दै उनले यस्ता घटनाका दोषीलाई कारवाही गरिने विश्वास दिलाए।

सांसदहरु सन्जयकुमार गौतम, देवप्रसाद तिमल्सिना, महेन्द्रकुमारी लिम्बु, राजेन्द्रप्रसाद लिङ्देन, उमाकान्त चौधरी, दिलेन्द्रप्रसाद बडु, सरिता गिरी, अमरेशकुमार सिंह, डाक्टर मिनेन्द्र रिजाल, राजेन्द्र केसी ,दुर्गा पौडेल लक्ष्मी परिवार लगायतले थप स्पष्टीकरण माग गरेका थिए।

अमरेश कुमार सिंह

पछिल्लो समय व्यापक चर्चामा आएको विशाल ग्रुप र सरकारको मिलेमतोमा चक्लेटमा भन्सार छुट गरिएको र विद्युतिय गाडिमा भनसार बढाइएको कुरालाई प्रस्ट पार्न सांसाद अमेश कुमार सिंहले आग्रह गरेका छन् ।

उनले संसारको कुनैपनि देशमा कोरोनालाई कन्ट्रेल गर्न सेना परिचालन नगरिएको भन्दै नेपालमा सेना परिचालन गरिएको कुरालाई प्रस्टाउन उनले आग्रह गरे ।

उनले भने ‘गृहमन्त्रालय अन्तर्गत विपद व्यवस्थापन प्राधिकरण छ । त्यो हुँदा हुदै पनि गृहमन्त्रालय अन्र्तगत नगरिकन रक्षामन्त्रालयबाट किन गरिएको छ । छाउनीमा सिसिएमसीको अफिस किन राखिएको छ ? लकडाउनको अवधिमा झण्डै १४ सय जनाले आत्महत्या गरेका छन के यो खुशी नेपाली र समृद्ध नेपालीको प्रतिक हो ? वा भोकले कसैले मर्नुपर्दैनको प्रमाण हो ?’

त्यस्तै नेपाली कागं्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्रीको कुरा सुनिसकेपछि कोरोना भाइरसको बारेमा आफूलाई डर लागेको बताए । ‘सरकारले पीसीआर मेसिन ५ वटा किन्यो ५ वटै चल्दैन । क्वारेन्टाइनको मापदण्ड आफुले बनाएको मापदण्ड एकपटक पढ्नु भएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कल्ले भन्यो ? नेपालमा मृत्यु हुनेको संख्या कम छ भन्ने उमेर समुहको आधारमा मृत्यु भएको विश्वव्यापी संख्यासँग दाजेर हेर्नुभएको छ ? भष्ट्राचार स्वास्थ्य सामग्रीको सुचि राखेर संसदमा छलफल गर्नका निम्ति म प्रधानमन्त्रीलाई खुल्ला आव्हान गर्छु’, उनले भने ।

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘जुन अवस्थामा भारतबाट नेपालीहरु ल्याइएका छन ति व्यक्ति हुन कि ति नेपाली नागरिक हुन? ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने उनीहरु आउँदैछन भन्ने कुरामा जानकारी राख्ने तिनको लागि क्वारेटाइनको तयारी गर्ने सम्माननीय प्रधानमन्त्रीको सरकारले हो वा हामीलेले गरिदिुनुपर्ने हो ? त्यसको तयारी गरेको भए आज तिनलाई दोश दिएर बस्नुपथ्र्यो ।

नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँड कोभिड–१९ रोकथामका लागि स्थानीय निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै स्थानीय सरकारलाई संघीय सरकारले सहयोग गरेको छैन भन्दै प्रश्न गरे ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App