८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सीमा निगरानी गर्न खयरभट्टीमा सशस्त्र

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित खयरभट्टीस्थित बाँसखोली पुगेको सशस्त्र प्रहरी। तस्बिर सौजन्य: सशस्त्र प्रहरी बल

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली (नेपाली भूमि) मा भारतीय पक्षद्वारा निर्मित संरचनाबारे यथार्थ जानकारी लिन सशस्त्र प्रहरी पुगेको छ। त्यहाँ भारतीय पक्षले संरचना निर्माण गरिरहेको त्यहाँका स्थानीयले यसअघि जानकारी गराएका थिए।

बाँकेको अति विकट मानिने खयरभट्टी क्षेत्रमा सशस्त्र प्रहरी बलको नरैनापुर–१ कटकुइँयास्थित बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश भण्डारीको नेतृत्वमा टोली पुगेको हो। सशस्त्र प्रहरी निरीक्षक भण्डारीले खयरभट्टीस्थित बाँसखोलीमा मन्दिरजस्तै कच्ची संरचना निर्माण भए पनि स्थानीय बासिन्दाले बताएजस्तो त्यहाँ भारतीयले निर्माण नगरेको पाइएको बताए। ‘त्यहाँ एकजना बाबा बस्छन्, उनकै चेलाहरू आएर खरले छाएको कटेरो बनाइदिएका रहेछन्, बाबा चाही नेपाली रहेको बुझियो,’ सशस्त्र प्रहरी निरीक्षक भण्डारीले टेलिफोनमा भने।

बाहिरका मान्छे आएर निर्माण गर्दा नेपाली समुदायसँग सोधपुछ र समन्वय नगरेका कारण यहाँका स्थानीयले भारतीय व्यक्ति भएको अनुमान गरेका थिए। खयरभट्टीका स्थानीय गणेश बुढामगरले दिएको सूचनाका आधारमा समाचार सार्वजनिक भएको थियो। नेपाल–भारत सीमासँग जोडिएको नेपाली भूमिमा अपरिचित व्यक्तिहरू आएर समन्वय र सोधपुछबिना संरचना निर्माण गर्न थालेपछि उनीहरू भारतीय नै भएको यसअघि आशंका गरिएको र अहिले बुझ्दै जाँदा नेपाली बाबाले आश्रय लिएको पत्ता लागेको स्थानीय बताउँछन्। ‘जताततै नेपाली भूमि अतिक्रमणमा परिरहेको अवस्थामा हाम्रो यहाँ पनि अपरिचित मान्छे आएर संरचना बनाउन थालेपछि हामीलाई भारतीयमाथि शंका लागेको थियो, अहिले बुझ्दै जाँदा बाबा नेपाली नै हुन् भन्ने सुनिन्छ,’ स्थानीयले भने।  

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपक अधिकारीले नेपाली भूमिमा भारतीयले संरचना निर्माण गरेको समाचार बाहिर आएपछि सशस्त्र प्रहरीको टोलीलाई त्यसतर्फ पठाइएको बताए। ‘हाम्रो टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दाले भनेको जस्तो भारतीय नै आएर नेपाली भूमिमा संरचना निर्माण गरेको पाइएन, सीमा सुरक्षामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ,’ उनले भने।

प्रकाशित: १४ जेष्ठ २०७७ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App