५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

हेलिकोप्टरबाट उद्दार गरेर ल्याइएका कालिकोटको पलाता गाउँपालिका अध्यक्ष बम, उनकी पत्नी र भाइलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेश अस्पताल लगिँदै । तस्बिर: नागरिक

सुर्खेत, - वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी पत्नी गोरीकला र भाइ गजेन्द्र बमलाई हेलिकोप्टरबाट आइतबार उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । 
उपभोक्ता समिति गठनका विषयमा विवाद हुँदा शनिबार पलाता गाउँपालिका–१ का अध्यक्ष मानबहादुर भण्डारी, वडा सदस्य मोती कार्की, नेकपा गाउँपालिका अध्यक्ष विष्णु रोकाय र नेकपाका स्थानीय नेता धनीराम भण्डारीले कुटपिट गरेका थिए ।

गाउँपालिका अध्यक्ष बमले ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने विषयमा छलफल भइरहेका बेला वडाध्यक्षसहित चार जनाले ढुंगा र लाठीले कुटपिट गरेको बताए । तीनै जनालाई आइतबार माउन्टेन एयरको हेलिकोप्टरले पलाताबाट सुर्खेत ल्याएको थियो । अध्यक्ष बमको दायाँ काननजिकै चोट छ भने उनकी पत्नी गोरीकलाको टाउकोमा गम्भीर चोट छ । 

कुटाइ खाने र कुट्ने सबै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ता हुन् । गाउँपालिका अध्यक्ष बमले आपराधिक मानसिकता भएका व्यक्तिहरूले आफूहरूमाथि कुटपिट गरेको बताए । ‘उपभोक्ता समिति गठनका विषयमा छलफलमा बोलाएर वडाध्यक्ष र उनको समूहले आक्रमण ग-यो,’ गाउँपालिका अध्यक्ष बमले भने, ‘उनीहरू पहिल्यैदेखि आफूलाई आक्रमण गर्ने योजनामा रहेको बुझिएको छ ।’

अध्यक्ष बमले आक्रमणमा संलग्न चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा लिखित जाहेरी दिए पनि जिल्ला प्रहरी कार्यालय कालिकोटले मुद्दा दर्ता गर्न नमानेको बताए । ‘मेरो र परिवारको हत्या गर्नेसम्मको योजना बनाएर ममाथि आक्रमण भएको हो,’ उनले भने, ‘ज्यान मार्ने उद्योगमा जाहेरी दिएर आएको हुँ, तर प्रहरीले दर्ता गर्न मानेको छैन ।’ नेकपाकै जिल्ला नेतृत्वको दबाबमा प्रहरी जाहेरी दर्ता गर्न नमानेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्याम ओलियाले गाउँपालिका अध्यक्ष बमले ज्यान मार्ने उद्योगमा मुद्दा दिएको बताए । ‘हामी कानुनबमोजिम मुद्दाको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘अर्को पक्ष पनि जाहेरी ल्याएर आउने जानकारी पाएका छौं ।’ डिएसपी ओलियाले घटनामा वडाध्यक्ष मानबहादुर भण्डारी, नेकपा गाउँपालिका अध्यक्ष विष्णु रोकाय र नेकपाका स्थानीय नेता धनीराम भण्डारी र नवीन बुढा पनि सामान्य घाइते भएको र उनीहरू अहिले जिल्ला सदरमुकाम मान्मामा उपचार गराइरहेको बताए ।

प्रकाशित: २९ वैशाख २०७७ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App