३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय समितिले भन्यो सीमा नाकामा कडाइ गरौंं

काठमाडौं, - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतसँग जोडिएको नेपालको सीमाना अन्तर्राष्ट्रिय कानुन र नेपालको राष्ट्रिय हित अनुकूल नियमन गर्न सुझाव दिएको छ । बुधबार बसेको समितिको बैठकले हालसम्म नियमन नभएको सीमापारिबाट हुनसक्ने जोखिमपूर्ण अवाजतवतलाई व्यवस्थित गर्न सुरक्षा प्रवन्ध मिलाउन सुझाव दिएको हो ।

सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कोरोना रोकथामको दृष्टिकोणले आवश्यक पर्ने स्वास्थ्य सामग्री खाद्य व्यवस्थापन र उचित आवसको प्रबन्ध मिलाउन पनि समितिले सुझाव दिएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त, नगरपालिकासँग जोडिएको भारतीय सीमानाका बनवासा र टनकपुरमा विगत ३५ दिनभन्दा बढी क्वारेन्टिनमा राखिएका नेपालीलाई स्वदेश ल्याई स्वास्थ्य परीक्षण गरी व्यवस्थित विवरणसहित सम्बन्धित पालिकामा पठाउन समितिले सुझाव दिएको छ ।  

भारतका विभिन्न ठाउँ तथा सीमाक्षेत्रमा रहेका नेपालीलाई भारतीय प्रशासनले समेत नेपाल फर्कन आग्रह गरिरहेको अवस्थामा दुवै देशका सरकारबीच औपचारिक छलफल गरी आवश्यक गृहकार्यसहित प्राथमिकीकरण गरी नेपाल फर्काउने व्यवस्था गर्न समितिले सुझाव दिएको छ । 

भारतलगायत विभिन्न देशमा रहेका नेपालीको कोरोनाको महामारीबाट सुरक्षा गर्न तथा कामविहीन भएकालाई जीविका सञ्चालनका लागि राहत उपलब्ध गराउन पनि समितिले सुझाव दिएको छ । 

यसैगरी, संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकले उद्योगीको मागबमोजिम जस्तापातामा सरकारले दिँदै आएको भन्सार छुट हटाउन भनेको छ ।  भूकम्पको समयमा जस्तापात आयतमा खुकुलो गरिएको व्यवस्था आगामी आर्थिक वर्षको बजेटबाट सुधार गर्न संसदीय समितिले सरकारलाई भनेको हो । जस्तापाता आयातमा हाल दिएको भन्सार महशुल दर १५ बाट बढाएर ३० प्रतिशत कायम गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । 

भूकम्पको समयमा जस्तापाताको धेरै माग रहेको र स्वेदशी उत्पादनले पूर्ति नगर्न नसकेपछि भन्सार खुकुलो गरिएको थियो । तर अहिले स्वदेशी उत्पादनबाटै देश आत्मनिर्भर रहेकोले समितिले यस्तो निर्देशन दिएको छ । उद्योगीले मागको दोब्बर नेपालमा उत्पादन हुँदै आएको भन्दै समितिमा उजुरी गरेका थिए। सोही उजुरीको आधारमा छलफल गरी समितिले सरकारलाई निर्देशन दिएको हो ।

प्रकाशित: २५ वैशाख २०७७ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App