१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्वआईजीपी खनाल सहितले अपहरण शैलीमा यसरी काठमाडौं ल्याएका थिए सांसद यादवलाई

काठमाडौं- बुधबार साँझ एकाएक सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव 'अपहरण' मा परेको खबर बाहिरियो। पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा. यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन लागेको समाजिक सञ्जालमा लेखेका थिए।

उनले बिहीबार फेरी अर्को स्टाटस लेखे, 'पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेfष्ठ ३ जना काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर सरकारी गाडीमा काठमाडौ ल्याइएको रहेछ। ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अबओलीलाई विदा गरौं।'

यो सबैको उदेश्य समाजवादी पार्टी विभाजन गराउने थियो। समाजवादीका असन्तुष्ट नेताहरु रेणु यादव, इस्तियाक राई लगायत पार्टी विभाजन गरेर सरकारमा जान चाहन्थे। त्यसको लागि उनीहरुलाई प्रधानमन्त्रीको अग्रसरतामा जारी भएको राजनीतिक दल सम्वन्धी अध्यादेश सहयोगी थियो। पार्टी केन्द्रमा वा संसदीय दलमा ४० प्रतिशत पुगेपछि दल विभाजन हुन सक्ने नयाँ प्रवधानमा प्रधानमनत्रीको आडमा उनीहरुले टेक्न चाहन्थे।

स्रोतका अनुसार सामाजवादीका ७ जना सांसदहरुलाई नक्साल स्थित म्यारियट होटलमा राखिएको थियो। त्यहाँ विभाजन र भागवण्डाको तयारी भइरहेको थियो। तर ७ जनामा मध्ये केही सांसदले दह्रो खुट्टा टेक्न नसकेको देखेपछि डा. यादवलाई 'उठाउने' योजना बन्यो। स्रोत भन्छ जनकपुरमा रहेका यादवलाई लिन काठमाडौंबाटै टोली परिचालन भयो।

सर्वेन्द्र खनालको डा. यादवसँग पुरानै चिनजान थियो। खनालले त्यही चिनजान प्रयोग गरेका थिए। बालुवाटरले 'केही कामको लागि तयार रहन' महेश बस्नेतलाई निर्देशन दिएपछि उनले स्रोत साधन सम्पन्न मित्रको खोजी गरे। त्यसमा भेटिए तनहुँका किसान श्रेष्ठ। किसान र सर्वेन्द्र पुराना साथी। त्यही नाताले तीन जना जनकपुर पुगे। सर्वेन्द्रको पुरानो चिनजानले डा.यादवसम्म पुग्न र काठमाडौं ल्याउन सहज भयो। तर पूर्व आइजी जस्तो व्यक्ति पूर्वमन्त्रीलाई राजनीतिक विषयमा सरकारलाई प्रभाव पार्न जनकपुर जानुको कारण भने रोचक छ। रिटायर्ड भएपछि उनले कुनै उपयुक्त नियुक्तिको लागि 'कनेक्सन' मिलाउन खोजिरहेका थिए। त्यसका लागि छिमेकका किसान नेकपा र सरकारमा चाँजो मिलाउने व्यक्ति थिए। सर्वेन्द्र राजदूत वा अख्तियारमा आयुक्त हुन चाहन्थे। यही महत्वकांक्षाले उनलाई जनपुरसम्म पुर्याएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

उनीहरुलाई राती ३ बजे यादवलाई होटल मेरिटमा ल्याएर छोडेका थिए। काठमाडौं ल्याउँदा बाटोबाट बस्नेतले यादवको प्रधानमन्त्री केपी ओलीसँग कुरा गराएका थिए। होटलमा समाजवादीका अन्य सांसदहरु थिए। बिहीबार विहान व्याम गर्छु भन्दै कोठाबाट अरुको आँखा छल्दै यादव बाहिरिन सफल भएका थिए। होटल मेरिटबाट बाहिरिएका उनलाई समाजवादीका नेताहरुले त्यहाँबाट लगेका थिए।

त्यस लगत्तै होटलमा सांसदहरुलाई भेट्न अशोक राई, गंगा श्रेष्ठ पुगेका थिए। तर उनीहरुलाई प्रहरीले रोकेको गंगा श्रेष्ठ बताए।

बुधबार राती समाजवादी र राजपाको एकता टुंगिएपछि बिहीबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन समेत दिएका छन्। दुई पार्टीको एकता पछि इस्तियाक राईले समेत आफुलाई एकताले उत्साहि बनाएको भन्दै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन्। उनलाई पार्टी विभाजनको तयारी गरेको आरोप लागेको थियो।

 

प्रकाशित: ११ वैशाख २०७७ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App