२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

'कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ'

नागरिक दैनिकले 'नेपालको अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव' बारे सोमबार आयोजना गरेको साक्षात्कारमा अर्थमन्त्री युवराज खतिवडा सरकारको नीतिबारे जानकारी गराउँदै। तस्बिर: केशवराज थोकर/नागरिक

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) ले मुलुकको प्रभाव पार्ने क्षेत्रलाई सरकारले संरक्षण गर्ने बताएका छन्। अर्थमन्त्रीले विगतमा सशस्त्र द्वन्द्वदेखि भूकम्प र नाकाबन्दीजस्ता समस्यासँग सरकार जुधेको अनुभव भएको बताउँदै कोरोना समस्यासँग पनि नीति बनाएरै जुध्ने जानकारी दिए।

नागरिक दैनिकले ‘नेपालको अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव’ बारे सोमबार गरेको साक्षात्कारमा अर्थमन्त्री खतिवडाले भने, ‘सरकारले विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा रुग्ण उद्योगलाई समस्या पर्दा आवश्यक नीति बनाएर सम्बोधन गर्दै आइरहेको छ। यसअघि पर्यटन क्षेत्र समस्यामा पर्दा तथा रुग्ण उद्योगलाई नीति बनाएरै उद्धार गरेका थियौं। अहिले पनि कोरोनाबाट वास्तविक समस्यामा पर्ने उद्योगी, व्यवसायीलाई संरक्षण गर्न सरकार तयार छ।’

सरकारले कर फिर्तालगायतका कार्यक्रम ल्याएर भए पनि व्यवसायीको समस्या सम्बोधन गर्र्ने जानकारी अर्थमन्त्रीले दिए। ‘निर्यातमा सहुलियत दिने हाम्रो नीति नै छ। जहाँ–जहाँ व्यवसायीलाई समस्या भएको छ, त्यही ठाउँका व्यवसायीलाई सहयोग गर्ने नीति अवलम्बन गर्नेछौं’, मन्त्री खतिवडाले भने, ‘अहिले ब्याज अनुदानसमेत दिनेछौं। बैंकको ब्याज अनुदान दिने क्षेत्र पनि तोकेका छौं।’

खतिवडाले राष्ट्रबैंकलाई पनि लचकता अपनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको बताए। ‘हामी अहिलेको अवस्थामा ‘पेनिक’ नबनौं। अहिले पर्ख र हेरको रणनीतिमा छौं,’ उनले भने, ‘असर परेको क्षेत्रमा मूल्यांकन गरेर निजी क्षेत्रलाई गर्नुपर्ने सहयोग गर्न तयार छौं।’

अर्थमन्त्रीका अनुसार अन्तर्राष्ट्रिय स्तर र छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरसका कारणले व्यापार, लगानी, श्रम, पर्यटन र पुँजीप्रवाहमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको छ।

खतिवडाले अहिले नाफा खाएर नभई आपूर्ति सहज रुपमा गर्ने बेला भएको बताए। उनले मुलुकमा कोरोनाबाट हुने जोखिमको वास्तविक मूल्यांकन गर्न आग्रह गरे। ‘हामी जोखिमलाई अधिमूल्यन वा अवमूल्यन दुवै गर्ने अवस्थामा छैनौं’, अर्थमन्त्री खतिवडाले भने, ‘जोखिमलाई अधिमूल्यन गरियो भने भयावह अवस्था आउँछ, विद्यमान संस्थागत प्रबन्ध खलबलिने, आपूर्ति र आवागमन प्रणालीका साथै सम्पूर्ण जनजीवनलाई असर पार्ने हुन्छ।’

खतिवडाले अतिकति अवमूल्यन गरे पनि छिमेकी मुलुकमा जोखिम देखिएकाले त्यो गर्न सक्ने अवस्थामा पनि नरहेको जानकारी दिए। ‘हामी सोझै रुपमा प्रभावित नभए पनि हाम्रो अन्तरआबद्धता र छिमेकी मुलुकको कारणले यहाँ प्रभाव पार्ने देखिएको छ’, उनले भने।

उनका अनुसार अन्तर्राष्ट्रिय स्तर र छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरसका कारणले व्यापार, लगानी, श्रम, पर्यटन र पुँजीप्रवाहमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको छ। ‘फागुन मसान्तसम्मको अवधिलाई हेर्दा व्यापारको स्थिति अघिल्ला ६ सात महिनामा जे थियो, आठौं महिनामा पनि त्यही छ’, उनले भने।

खतिवडाले आयात व्यापार औसतमा आठ, पाँच र तीन प्रतिशतले घट्दै आएकोमा फागुनमा दुई वा तीन प्रतिशतले घटेको जानकारी दिए। यस्तै निर्यात व्यापार करिब २३ प्रतिशतले बढेको छ। पछिल्लो समय यो ३ प्रतिशतले मात्र घटेको छ।

खतिवडाले आयात र निर्यातमा आएको कमीको असर आयातित वस्तुमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि करलगायतको राजस्वमा परेको बताए। उनका अनुसार समग्रमा ३० प्रतिशतभन्दा धेरै आन्तरिक कर घटेको छ। ‘फागुनमा भएका गतिविधिको असर चैतमा देखिन्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘त्यसैले अबको केही दिनभित्रै असर देखिन थाल्नेछ।’

खतिवडाले यो समस्या ‘भी सेप’ नभई ‘यु सेप’ हुने अनुमान गरे। ‘मेरो अनुमान के हो भने राम्रोसँग गर्न सके ‘यु सेप’ को पुनर्उत्थान गर्न सक्छौं,’ खतिवडाले भने, ‘यसका कारणले सम्भाव्य नोक्सानी कम गर्न सक्छौं।’

खतिवडाले राजस्वमा अहिलेसम्म ठूलो प्रतिकूल असर परिनसकेको जानकारी दिए। उनका अनुसार अहिलेसम्म राजस्व लक्ष्यअनुसार नै असुली भइरहेको छ। ‘सरकारको नीतिले नै आयातलाई निरुसाहित गर्ने काम गरेको हो। यसैले राजस्व केही कम देखिएको मात्र हो’, उनले भने।

खतिवडाले कोरोनाका कारण आयोजनाहरुमा असर पर्न थालेको बताए। चिनियाँ ठेकेदार, लगानीकर्ता र विज्ञको उपस्थिति भएका परियोजनाहरुमा समस्या देखिएको खतिवडाले जानकारी दिए। ‘नयाँ वर्ष मनाउन गएका अधिकांश चिनियाँ कामदार तथा विज्ञ फर्किन पाएका छैनन्। त्यसले गर्दा हाम्रो पूर्वाधार तथा विकास निर्माणका काममा ढिलासुस्ती हुन पुगेको छ,’ खतिवडाले भने, ‘ निजी क्षेत्रका पनि मूलतः जलविद्युत् आयोजना अलि बढी प्रभावित भएका छन्।’ खतिवडाले कोरोना भाइरसका कारण निर्माण क्षेत्र अलि संकुचित हुन्छ कि भन्ने डर लागेको बताए। उनका अनुसार अहिलेसम्म उद्योगमा खासै ठूलो असर परेको छैन।

मन्त्री खतिवडाले औषधिको अधिकांश कच्चा पदार्थ चीनबाट आउने भए पनि कच्चा पदार्थको मौज्दात पर्याप्त भएको बताए। यस्तै भारतबाट आउने कच्चापदार्थ र औषधिको आपूर्तिमा पनि समस्या नभएको उनको भनाइ थियो। खतिवडाले नयाँ उद्योग खोल्न र क्षमता विस्तार गर्न भने पर्ख र हेरको अवस्था बनेको बताए।

अर्थमन्त्री खतिवडाले कोरोनाको समस्याले बैंकिङ क्षेत्रमा अहिल्यै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए। उनका अनुसार सबैभन्दा धेरै प्रभावित क्षेत्र पर्यटन हो। ‘कोरोनाको समस्या ठीक भयो भने पनि तत्कालै यो क्षेत्र तयार हुन सक्दैन। त्यसैले अफसिजनमा पनि भारतीय र चिनियाँ पर्यटकलाई आकर्षित गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ’, उनले भने।

कार्यक्रमको सहजीकरण गर्ने क्रममा पूर्वअर्थसचिब रामेश्वर खनालले कोरोना भाइरसको प्रभावलाई कम गर्न सरकारले अहिलेसम्म कुनै कडा कदम नलिएको बताए। ‘सरकारले आम नागरिकलाई क्वारेन्टाइनमा राख्न पनि निर्देशन दिएको छैन। सरकारको तयारी पर्याप्त छ कि छैन’, खनालले जिज्ञासा राखे।

खनालले विगतका कस्ताकस्ता आर्थिक संकटमा पनि मिडिया क्षेत्र प्रभावित नभएको भन्दै अहिले भने मिडिया क्षेत्रसमेत प्रभावित बनेको बताए। ‘मिडिया क्षेत्रको ठूलो आम्दानी भनेको विज्ञापन हो। त्यो पनि प्रभावित भएको छ,’ खनालले भने, ‘सम्पूर्ण क्षेत्र नै प्रभावित हुने अवस्था सिर्जना भएको बेला सरकारले कस्तो खालको आर्थिक नीति समायोजन गर्छ, हेर्ने बेला भएको छ।’

नेपाल उद्योगा वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोनाले नेपालको पर्यटन क्षेत्रमा बढी असर पर्ने देखिएको बताए। ‘सरकारले ठूलो अपेक्षासहित आयोजना गरेको नेपाल भ्रमण वर्षलाई कोरोनाले असर पारेको छ। धेरैजसो होटेलको अकुपेन्सी घटेर आएको छ’, उनले भने, ‘भ्रमण वर्षलाई ध्यान दिएर धेरै उद्योगी, व्यवसायीले ठूलो लगानी गरेका थिए।उक्त लगानी अहिले जोखिममा आइसकेको छ।’

गोल्छाले आगामी दिन संक्रमण बढेर ‘लक डाउन’ हुने स्थिति आए नेपालमा खाद्यान्नलगायतका वस्तुको तुरुन्त अभाव हुन सक्ने बताए। उनका अनुसार संक्रमणको असर डलरमा समेत परिसकेको छ भने ढुवानी लागत पनि धेरै बढेर गएको छ, यसको प्रत्यक्ष असर मूल्यमा देखिने छ।

सांसद विमला राईले कोरोनाले आयात निर्यात दुवै व्यापारलाई एकैचोटि असर गरेको बताइन्। उनले सामान लुकाउन थालिएका कारण काम गरेर खानेहरुले बजारमा चाहेको बेलामा खाद्यान्न पाउन नसक्ने अवस्था आएको बताइन्।

अर्थशास्त्री विश्व पौडेलले सरकारले उद्योग कलकारखानालाई ध्वस्त हुनबाट जोगाउन र मूल्यवृद्धि नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताए। ‘मूल्य वृद्धि नियन्त्रण गर्न सरकारका सबै औजार प्रयोग गर्ने बेला आएको छ,’ अर्थशास्त्री पौडेलले भने। उनले जुन उद्योगमा बढी प्रभाव परेको छ तिनलाई अनुदान दिने व्यवस्था गर्न पनि सुझाव दिए। उनले यो वर्ष कर धेरै लगाउन नहुने पनि सुझाव दिए। ‘कोरोनाको प्रभाव छोटो समयका लागि मात्रै भयो भने डराउनुपरेन तर अहिलेको लागि गरिबी बढाउन सक्ने ठाउँहरुमा ध्यान दिनुपर्ला,’ उनले भने।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले कोरोनाबाट बच्न युनिसेफको नीति राम्रो भए पनि सरकारले तयारी नगरेको बताए। ‘अहिले मान्छेहरु ‘पेनिक’ अवस्थामा छन्। हाम्रो मानसिकता नै पेनिक अवस्थामा भएकाले सबैले आफ्नो क्षमताअनुसार सामग्री किनेर थन्काइरहेका छांै। तर आगामी तीनदेखि ६ महिनासम्म पनि समस्या यथावत् रहे के हुन्छ’, श्रेष्ठले प्रश्न गरे। उनले अमेरिकामा फेडरल बैंकले ब्याजदर शून्यदेखि दशमलब २५ प्रतिशत कायम गरेको भन्दै ब्याजदर कम गर्ने विषयमा हामीले पनि सोच्ने बेला आएको बताए।

प्रकाशित: ४ चैत्र २०७६ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App