२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध

फाइल तस्बिर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ। गत साता बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत अर्थमन्त्री डा. युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो। खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबारबाट सकिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनयन हुने कोटामा पार्टीको सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेको थियो। सिफारिस नहुँदै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन्। बुधबार उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका छ।

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकबाट भएको निर्णय नमान्ने बताएपछि पार्टीभित्र विवाद सुरु भएको थियो। ‘मन्त्रिपरिषद्ले वामदेव गौतमलाई सिफारिस गर्दैन, डा. खतिवडालाई नै निरन्तरता दिनेछ’, प्रधानमन्त्री ओलीले भनेका थिए। त्यसपछि सचिवालयका शीर्ष नेताहरु ओलीविरुद्ध लागेका थिए। पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड थियो। फागुन १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने जानकारी गराएका थिए। करिब आधा घण्टा बसेको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल भएन। त्यस दिन अध्यक्ष पुष्पकमल दाहाल र गौतम बेग्लै बसेर छलफल गरी सचिवालय बैठकमा गए पनि त्यहाँ ओलीलाई स्वास्थ्य उपचारबारे शुभकामना दिने काममात्रै भएको थियो। ‘प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि भर्ना भएपछि स्वतः यो विषय ओझेलमा परेको छ र पार्टीभित्रका अन्य समस्या पनि तत्काल ओझेलमा परेका छन्’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘राष्ट्रियसभाको सांसद मनोनयनको विषयभन्दा पनि अहिले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्ने बेला हो।’

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ। राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो।

उनका अनुसार तत्काल राष्ट्रियसभा सदस्यमा कोही कसैको मनोनयन हुँदैन। प्रधानमन्त्री ओलीले राम्रोसँग काम गर्ने अवस्था नभईकन मनोनयनलगायतका विषयमा छलफल नहुने उनले बताए। नेकपा शीर्ष नेताहरु पनि यो विषयलाई तत्काल उठाउने पक्षमा छैनन्। सबैको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा केन्द्रित भएको छ। ‘मानवीय संवेदनाभन्दा ठूलो अन्य विषय हुँदैन। केही समय पार्टीगत विवाद हुने खालका कुनै पनि काम हुँदैनन्’, नेकपा स्रोतले भन्यो।

सुरुमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजान चुनावमा भाग लिन आग्रह गरेका थिए। गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेमात्रै राष्ट्रियसभामा जाने सर्त राखेपछि त्यति बेला सो प्रक्रिया अवरुद्ध भएको थियो। यति बेला भने राष्ट्रपतिबाट मनोनयन भएर राष्ट्रियसभामा जान गौतम सहमत भएपछि सचिवालय बैठकबाट उनलाई सिफारिस गरिएको थियो। सचिवालयका सबै सदस्यसांसद भएको र गौतममात्र छुटेकाले उनलाई जसरी पनि सांसद बनाउनुपर्छ भन्दै पार्टीका कार्यकारी अध्यक्ष दाहाल लागिपरेका थिए। त्यसमा महासचिव विष्णु पौडेलको पनि साथ रहेपछि गौतम सांसद हुन राजी भएको स्रोतले जनाएको छ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिएसँगै युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेकको छ। गौतमलाई मनोनयन गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीभित्र विवाद भएपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई पार्टीको निर्णयअनुसार गौतमलाई मनोनयन गर्ने तथा खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने मध्यमार्गी बाटो सुझाएका थिए। ‘गौतमलाई सदस्यमा मनोनयन गरेपछि राष्ट्रियसभाका सदस्य रामनारायण बिडारी वा विमला पौडेलमध्ये एकजनालाई राजीनामा गराएर खतिवडालाई मनोनयन गर्ने विषयमा छलफल अघि बढेको थियो, प्रधानमन्त्री उपचारका लागि अस्पताल भर्ना भएपछि यो प्रक्रिया रोकिएको छ’, नेकपाका एक सदस्यले भने।

प्रकाशित: २१ फाल्गुन २०७६ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App