६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश २ को नामाकरणका लागि मतदान हुने

जनकपुरधाम – सत्तारुढ र प्रतिपक्षी दलहरूबीच सहमति नजुटेपछि प्रदेश २ को नामाकरण टुंगो लगाउन प्रदेशसभामा मतदान हुने भएको छ। प्रतिपक्षी नेकपा र कांग्रेसले प्रस्ताव गरेको नाउमा मधेस शब्द जोड्न सहमत भए पनि सत्तारुढ राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संयुक्त रूपमा प्रस्ताव गरेको ‘मधेस प्रदेश’ नाममा लचक नभएपछि प्रदेशसभाको आगामी बैठकमा नामाकरणका लागि मतदान हुने बताइएको छ।

प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा प्रदेशको राजधानी जनकपुर तोक्ने सहमति जुटे पनि नामाकरण पेचिलो बनेको छ। पटकपटक बसेको विशेष संसदीय समितिको बैठकमा प्रदेशको नाममा सहमति नजुटेपछि समितिले आइतबार अन्तिम बैठक बोलाएको छ। तर दलहरूले नामाकरणमा आफ्नो अडानबाट पछि हट्ने अवस्था नरहेको भन्दै अन्तिम विकल्प मतदान प्रक्रियामै जाने निश्चित रहेको समितिका सदस्यहरूको भनाइ छ। सत्तारुढ राजपा–समाजवादी पार्टीले आफ्नो अडान कायमै राखे अन्तिम बैठकमा समेत नामाकरण नटुंगिने समितिका सदस्य कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए।

‘सहमतिका लागि लचक हुनैपर्छ। हामीले विकल्पमा मिथिला भोजपुरा मधेस राख्न सुझाएका छौँ। यसमा सहमति नभए मतदान हुन्छ,’ उनले भने। संसदीय विशेष समितिका अर्का सदस्य समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले मधेस प्रदेशको नामबाट पछि नहट्ने अडान दोह¥याए। ‘आन्दोलन नै मधेस प्रदेशका लागि भएकाले यो हाम्रो बटमलाइन हो। यसमा एक कदम पछि हट्ने अवस्था छैन,’ सांसद यादवले भने। संविधानमा मिथिला र जानकीको अवधारणा कहीं–कतै नरहेकाले प्रतिपक्षी नेकपा र कांग्रेसले मधेस प्रदेश मान्नुपर्ने उनको भनाइ छ।

राजपाका प्रमुख सचेतक परमेश्वर साहले ‘मध्य मधेस’ सम्म लचक हुन सकिने बताए। ‘यदि प्रतिपक्षीले जानकी र मिथिला छोडे भने मध्य मधेससम्म आउन सकिन्छ। तर अर्को कुनै विकल्प छैन,’ उनले भने। २ नम्बर प्रदेशका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले संयुक्त रूपमा मधेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जानकी र कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेको छ। तर समितिको बैठकमा लचिलो बन्दै नेकपाले जानकी मधेस र कांग्रेसले मिथिला मधेस वा मिथिला भोजपुरा मधेसमा अन्तिम अडान कायम राखेको छ।

प्रदेशको राजधानी र नाम सम्बन्धमा विभिन्न दल तथा सांसदले भदौ ५ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठकबाट सभामुख यादवको संयोजकत्वमा नौ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले काम थालेको एक महिनाभित्र प्रदेशसभामा प्रतिवेदन पेस गर्नुपर्ने थियो। तर लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसक्दा समितिको म्याद नै नथपेर नाघेकै म्यादमा छलफल भइरहेको छ। समितिबाट नामाकरण टुंग्याउन नसकिए दलहरूले प्रस्ताव गरेको प्रस्तावउपर प्रदेशसभामा मतदान हुनेछ।

दुईतिहाइ बहुमतले प्रस्ताव पारित भएपछि नामाकरण र राजधानी टुंगो लाग्नेछ। प्रदेश २ मा एक सय सात सांसद छन्। अन्य प्रदेशमा नेकपासँग दुईतिहाइ बहुमत भए पनि प्रदेश २ मा दुईतिहाइ पु¥याउन तीनवटै दल मिल्नुपर्ने बाध्यात्मक अवस्था छ। समितिले प्रदेशको स्थायी राजधानी जनकपुर हुने सर्वसम्मतिले टुंगो लगाइसकेको छ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App