काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीभित्र विवाद र समस्या आइरहने बताएका छन्। नेकपा वागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताएका हुन्।
अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन सम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने र ठक्कर खाने भइराख्ने बताए। त्यसलाई सबैले स्वीकार्नुपर्ने उनले बताए। पार्टीमा विवाद र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताउँदै त्यसकै कारण पार्टी विभाजन र विघटन नहुने बताए। उनले अहिलेको आवश्यकता अनुसार देशको नेतृत्व गर्ने पार्टीको रुपमा विकास गर्न पनि विवाद, संघर्ष, भूमरी र ठक्कर खाने भइराख्ने भएकाले त्यसलाई सबैले स्वीकार्दै एक ढिक्का भएर समस्या समाधान गर्नुपर्ने बताए। उनले पार्टी पार्टी जमेको पोखरी नभएको भन्दै भुमरी परिरहने र गड्गडाउँदै अगाडि बढ्ने बताए।
दुश्मनका गोलीले लडाउन नसेको कम्युनिष्ट सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफै सकिने गरेकोले सचेत हुनुपर्ने बताए। उनले पार्टी मुलभुत रुपमा विचार राजनीति र कार्यक्रम भएको र अर्कोतर्फ विधि र पद्धति भएकाले विचार, विधि र नेतृत्वको संयोजनबाट पार्टी चल्ने बताए। उनले विचार र विधिको एकरुपताबाट नै पार्टीको जीवन र गति निर्धारण हुने बताए।
प्रकाशित: १५ फाल्गुन २०७६ १३:५४ बिहीबार