१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनका लागि निर्वाचन ‘प्रतिष्ठाको लडाइ’

जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा मतदान गर्दै मुख्यमन्त्री लालबाबु राउत । तस्बिरःमिथिलेश/नागरिक

जनकपुरधाम- प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ। जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान १० बजेबाट मतदान सुरु भएको हो। मुख्यमन्त्री राउत र मन्त्री यादवले ‘क’ मतगणना स्थलबाट पहिलो र दोस्रो मत खसालेका हुन्।

निर्वाचन अन्तर्गत नगर प्रमुख र उपप्रमुख गरी २ सय ७२ जना र १ सय ७ प्रदेशसभा सदस्य गरी जम्मा ३ सय ७९ जना मतदाता छन्। राष्ट्रियसभा सदस्यका लागि नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहाल, राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर सिंह, कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार तथा समाजवादी पार्टीबाट रामपृत पासवान र अनिरुद्र यादवले प्रतिस्पर्धा गर्दै छन्।

प्रदेश २ बाट राष्ट्रियसभाको चार सिटमा नेकपा र राजपाले दुई–दुई सिटका बाँडेका छन्। निर्वाचनका लागि राजपा–नेकपाबीच गठबन्धन बनेको छ। यता, नेपाली कांग्रेस र समाजवादी पार्टीको गठबन्धन छ। दुबै दललले दुई–दुई सिट बाँडेका छन्। प्रदेशसभाका १ सय ७ सदस्यमध्ये राजपा २५, नेकपाका ३२ गरी ५७ मत छ। स्थानीय तहका(प्रमुख, उप प्रमुख) कुल २ सय ७२  मत मध्ये नेकपाका ८३ र राजपाका ५४ गरी १ सय ३७ मत छन्।

नेपाली कांग्रेसको १९ र समाजवादीको ३० गरी ४९ प्रदेश सांसद छन्। स्थानीय तहमा कांग्रेसका ८१, समाजवादीको ५२ गरी १ सय ३३ छ। साथै जनता दलका २ जना प्रमुख–उपप्रमुख छन्। संघीय समाजवादी पार्टी(रिजवान अन्सारी)को १ जना सांसद छ।

निर्वाचन प्रयोजनका लागि २० जना कर्मचारी खटिएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए। बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न हुने उनले बताए। मतदान सम्पन्न भएपछि मतदान केन्द्रकै भवनमा मतगणना सुरु हुने उनले बताए। मतदान स्थलमा मोबाइल लैजान र प्रयोग गर्न रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलका अनुसार मतदान स्थलको ५ सय मिटर वरिपरि बुद्यबार बिहान ७ बजेदेखि बिहिबार राती १२ बजेसम्म मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको छ। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान परिचालीत छन् उनले भने,‘आवश्यकताअनुसार नेपाली सेना पनि परिचालित हुनेछन्।’

कहिँकतैबाट असुरक्षा नहोस भनेर सादा पोशाकका प्रहरीहरु पनि प्रयाप्त मात्रामा परिचालन गरिएको प्रजिअ कँणेलले बताए। अहिलेसम्म कुनै थ्रेटको सूचना नरहेको उनले बताए।


 

प्रकाशित: ९ माघ २०७६ ०७:५४ बिहीबार

राष्ट्रियसभा_निर्वाचन गठबन्धन