जुम्ला – हुम्लामा नेताको चिटले अनुदानको चामल वितरण गर्दा आपसी विवाद सिर्जना हुन थालेपछि खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड हुम्लाले नेताको चिटका आधारमा चामल दिन रोकेको छ। कम्पनीले रासनकार्ड र जिल्ला प्रशासन कार्यालय हुम्लाको कुपनका आधारमा मात्र चामल उपलब्ध गराउन थालेको छ। पछिल्लो समयमा अनुदानको चामल दिन नेकपा र कांग्रेसका सांसददेखि नेतासम्मले चिट काट्ने गरेका थिए।
नेताको चिटले चामल वितरणमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले हालै सर्वदलीय बैठक आह्वान गरेर चिट निरुत्साहित गर्ने वातावरण सिर्जना गरेको हो। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार सर्वदलीय बैठकले अबदेखि अनुदानको चामल लिन नेताको चिट प्रयोग गर्ने निर्णय गरेको थियो। उनले भने, ‘यहाँको चामल नेताको चिटले धान्न नसक्ने भएकोले सबैसँग छलफल गरेर नेताको चिट प्रतिबन्ध गरिएको हो। अब कसैले नेताको चिट ल्याएको आधारमा चामल पाउने छैनन्।’
नेताको चिट रोकिएसँगै चामल वितरणमा सहजता आएको छ। पहिले आवश्यक परेको समयमा माननीयलाई चामल उपलब्ध गराउने भनिएको थियो। तर अहिले त्यो पनि हाबी भएपछि चामल वितरणमा निकै उत्तर–चढाव आयो। सर्वसाधारण मर्कामा परे। नेताको वरिपरि घुम्नेले मात्र चामल पाउन थाले। त्यो पनि सीमाभन्दा बढी चामलका चिट आउन थालेका थिए।
नेताले पठाएको चिट जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेर मात्र चामल उपलब्ध हुन्थ्यो, पछिल्लो समयमा सीधै खाद्य व्यवस्था कार्यालयमा नेताको चिट जाँदा निकै कठिन परिस्थिति सिर्जना भयो। मौजदात चामलभन्दा बढीको चिट आउन थाले। ‘चामलमा नेताको चिट प्रयोगका कारण खार्पुनाथ गाउँपालिकामा नेकपा र कांग्रेस नेता कार्यकर्ताबीच नै ठुलो खटपट सिर्जना भयो,’ सहायक प्रमुख जिल्ला अधिकारी हमाल भन्छन्, ‘अब चामल लिन कुनै पनि पावर र पहुँच चाहिँदैन। चामल वितरणमा कुुनै विभेद पनि हुँदैन। सबैलाई समान तरिकाले चामल वितरणको नीति लिइएको छ।’
कर्णाली राजमार्गले कर्णालीको जुम्ला, कालिकोट र मुगु जिल्ला नछुँदासम्म त्यहाँ चामलमा निकै ठुलो राजनीति हुन्थ्यो। पछिल्लो समयमा चामल राजनीति हुम्लामा सरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वितरण प्रक्रियाअनुसार चामल उपलब्ध गराउने विषयमा सबै नेता कार्यकर्ता सहमत भएका छन्। यसमा सबै पार्टीका नेताको ऐक्यबद्धता छ। अब चामल वितरण कार्य एकद्वार प्रर्णालीबाटै हुनुपर्नेमा सबैको जोड छ।
नेताको चिटअनुसार चामल बाँडे/नबाँडेको बारेमा जिल्ला समन्वय समितिका प्रमुखले नियमित निगरानी राख्नेछन्। सर्वदलीय बैठकमा चामल वितरणमा नेताको चिट प्रयोगले उब्जाएको समस्याका बारेमा गहन समीक्षा भएको थियो। सांसद जीवनबहादुर शाहीसमेत बैठकमा सहभागी भएर चामलमा राजनीति नगर्ने विषयमा सहमत भएका छन्। बैठकमा गाउँपालिका प्रमुख, विभिन्न दलका जिम्मेवार नेता र स्थानीय सहभागी थिए। नेताको चिटलाई आधिकारिक नमान्ने निर्णय गरेको सर्वदलीय बैठकले दलका नेताबाट चिट आउने कार्यलाई निरुत्साहित गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।
‘नेताले जथाभाबी चिट दिन थालेपछि चामल अपुग हुनसक्ने अवस्था आयो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामबहादुर बिष्टले भने, ‘तर सर्वदलीय बैठक पछि डिपोमा आउने चामल प्रत्येक वडालाई समान रूपमा बाँड्ने र सदरमुकाम खलंगा डिपोमा रासनकार्ड र कुपनका आधारमा बाँड्न थालेका छौं। चामल वितरण प्रक्रिया व्यवस्थित बन्दै गइरहेकोछ।
अनुदानको चामल लिन ‘कोही नछुटुन्, कोही दोहिरिउन्,’ भन्ने मान्यताअनुरूप काम भइरहेको प्रशासनको भनाइ छ। नेताको चिटले नियमित रूपमा चामल लिन पाउने सर्वसाधारणको अधिकार कुण्ठित भएको थियो। अब सबैलाई समान रूपमा चामल बाँडिनेछ। ‘चिट ल्याउनेलाई चामल दिन्नौं, सर्वसाधारणलाई चामल लिनबाट छुटाउँदैनौं,’ प्रमुख बिष्टले थपे,’ ‘चामल ढुवानी कार्यलाई नियमित र चामल वितालाई प्रभावकारी बनाउँदै लगेका छौं।’
चामल लिनका लागि कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई चिट नदिने प्रतिबद्धता हुम्लाका नेताहरूले समेत गरेका छन्। चामल दिने नेताको चिट प्रतिस्पर्धाले गोदामको चामल एक हप्तामै सकिएको थियो। नेपाली कांग्रेसको एकलौटी चिटले खार्पुनाथको गोदाम खालि भएको भन्दै नेकपाका कार्यकर्ताले गोदाममा तालासमेत लगाएका थिए।
यसैबीच खार्पुनाथ गाउँपालिकाले चामल वितरण गर्नका लागि कुपन दिने प्रक्रिया अघि बढाएको छ। चामलको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट मन्त्री र सांसदको चिट नियमित जाने गरेको स्थानीय बताउँछन्। हुम्ला भौगोलिक रूपमा निकै विकट भएकाले सबैले समान रूपमा अनुदानको चामल पाउनुपर्ने हुम्लाबासीले माग गरेका थिए।
चिट सिस्टमले पहुँचमा भएकाहरूले दोहो-याई, तेह-याई चामल पाउने, पहुँच नहुनेले दसैंमा टिकासमेत लगाउन नपाउने अवस्था उत्पन्न भएको थियो। नेताको चिट प्रतिबन्धपछि चामल वितरणमा हुँदै आएको राजनीति र भेदभाव अन्त्य हुने विश्वास गरिएको छ। हुम्लामा जुम्लादेखि जहाजबाट र कर्णाली करिडोर हुँदै खच्चरबाट चामल ढुवानी गर्ने गरिन्छ।
प्रकाशित: १९ पुस २०७६ ०१:५७ शनिबार