१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

‘दुस्मन आयो भन्दै छोडेर भागे’

दैलेख – शनिबार गाउँमा भएका सामाजिक काममा उपस्थित भएर साँझमात्र घर आएँ। चिसो दिन भएकाले घर आएर बेलैमा खाना खाएर सुत्न गएँ। एक्कासि राति साढे बाह्र बजेतिर घरबाहिर आवाज आयो। ‘ढोका खोल्नुस्,’ भनेर केही म निद्रामै थिएँ। मेरी श्रीमतीले ‘को हो ?’ भनेर सोधिन्। बाहिरबाट ‘अध्यक्षज्यूसँग काम छ, ढोका खोल्नुस्,’ भन्ने जवाफ आयो। म उठें। तर मेरी श्रीमतीले ढोका खोल्न मानिनन्। तथापि मैले को रहेछ भनेर ढोका खोलें। ‘यति राति तपाईहरू को हो ?’ भनेर मैले सोधें। उनीहरूले ‘हामी विप्लवका कार्यकर्ता हौं। तपाईसँग सोधपुछ गर्नु छ, हामीसँग हिँड्नुस्,’ भने।

श्रीमतीले मलाई एक्लै जान दिइनन्। उनी पनि सँगै आइन् र भाइ पनि आए। भाइलाई एक घण्टामा फर्काइयो। त्यसपछि लगातार भीरपाखामा हिँडाए। बिहान नौ बजेतिर श्रीमतीलाई आधा बाटोबाट फर्काए। म उनीहरूका साथमा लेकतिर लागें। दुई घण्टा सजिलो बाटो हिँडे पनि त्यसपछि डरलाग्दो भीरको बाटो हुँदै हिउँ भएको लेकतिर लगे।

त्यो ठाउँ कालिकोट र दैलेखको सिमाना थियो। बाटोमा मैले ‘मलाई अपहरण गर्नुको कारण के हो ?’ भनेर सोधें। हाम्रा एक हजार दुई सय कार्यकर्ता राज्यको नियन्त्रणमा थुनिएका छन्। तपाईहरू जस्ता राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले नटेर्ने भएकाले हामी बाध्य भएका हौं,’ भनेर एक विप्लव कार्यकर्ताले जवाफ दिए। ‘तपाईलाई लिएर हामीले राज्यलाई थ्रेट दिएका हौं। अब तपाईजस्ता एकपछि अर्को जनप्रतिनिधिहरूलाई आफ्नो कब्जा लिने हाम्रो कार्ययोजना छ,’ एक कार्यकर्ताले भने।

राज्यका प्रतिनिधिलाई नसमातेसम्म राज्यले नटेर्ने भएकाले अपहरण गर्न बाध्य भएको विप्लव कार्यकर्ताको भनाइ।

उत्तरतिरको बाटो थियो। मेरो हिँड्न नसक्ने अवस्था हुँदा ‘केहीबेर आराम गर्नुस्,’ भनेर सहयोगी बन्न खोजेको जस्तो पनि गर्थे। बाटोमा उनीहरूलाई प्रहरी कताबाट हिँडिरहेको छ भनेर खबर आइरहन्थ्यो। अपहरणपछि उनीहरूले बन्दीसँग गर्ने व्यवहार हाम्रो थियो। ‘तपाई राजनीतिक बन्दी भएकाले हामीबाट नडराउनुहोला,’ उनीहरू मलाई बारम्बार भन्ने गर्थे।

बिहान ११ बजेपछि हिउँ परेको ठाउँ कालिकोट र दैलेखको सिमामा खाना खान रोकियो। मलाई उनीहरूले खान खान आग्रह गरे। आफूहरू दुई दिनदेखि खाना नखाएको बताउँथे। सम्मानका साथ मलाई उनीहरूले भीर, हिउँ र जंगलभित्रबाट कठिनताका साथ लगे। अपहरण हुँदादेखि अपहरणमुक्त हुँदासम्म उनीहरूले कुनै अपशब्द बोलेनन्।

घरमा आउँदा मुखमा रुमाल बाँधेका १५ देखि २० जना युवाहरू थिए। बाटोमा बिस्तारै–बिस्तारै संख्या घट्दै गयो। अपहरणमुक्त हुँदा ६ जना मेरो साथमा थिए। उनीहरूसँग दुईवटा जति पेस्तोल थियो। साँझतिर अँध्यारो भइसकेको थियो। एक्कासि जंगलमा सुरक्षाकर्मीसँग जम्काभेट भइहाल्यो। म बीचमा थिए। अलि अगाडि तीनजना र अलि पछाडि तीनजना थिए। आमने–सामनेनजिकै छायाजस्तो मान्छे हिँडेको देखियो।

‘दुस्मन आयो, दुस्मन आयो,’ भन्दै उनीहरू मलाई छोडेर भागे। म भित्तातिर लुकेर भुइँमा थचक्क बसे। रात परेकाले टाढाबाट उनीहरूको पोशाक देखिएको थिएन। त्यहीबेला मेरोअगाडि सुरक्षाकर्मी पुगिहाले। मलाई उनीहरूले हातमा च्याप्प समाते। सुरुमा मलाई पनि विप्लव कार्यकर्ता हो भन्ने ठानेर समातेका रै’छन्। ‘को हो तपाई ?’ भनेर सुरक्षाकर्मीले मलाई सोधे। मैले ‘होइन’ मात्रै भने।

दिनभर हिँड्दा–हिँड्दा मुख सुक्खा भएको थियो। बोल्ने आवाजसमेत निकाल्न मुस्किल थियो। अनि ‘तपाई को हो ?’ भनेर ती सुरक्षाकर्मीले फेरि सोधे। ‘म अध्यक्ष हुँ,’ मैले भने। नबुझेको जस्तो लागेर मैले मेरो नामसहित उनीहरूलाई भनें। त्यतिकैमा उनीहरूले मलाई आफनो सुरक्षा घेराभित्र राखे। ‘अध्यक्षज्यू आफूहरूको साथमा आइसकेको,’ भन्दै ती प्रहरीले माथिल्लो निकायमा जानकारी गराए। त्यसपछि विप्लव कार्यकर्ताहरू त्यतै कतै रहेको आशंकामा आधाभन्दा धेरै प्रहरी अन्धाधुन्ध गोली हान्न थाले। मलाई केही प्रहरीले सुरक्षित स्थानमा राखे। अरू विप्लव कार्यकर्तालाई लखेट्दै गोली हान्दै दौडिरहेका थिए। मैले १५ देखि २० पटकसम्म गोली हानेको आवाज सुनें। सुरक्षाकर्मीले त्यहाँबाट मलाई राति कालिकोट हुँदै दैलेख ल्याइपु-याए।
(टाठीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीसँग अपहरणमुक्त भएपछि गरिएको कुराकानीको सम्पादित अंश।)

प्रकाशित: ८ पुस २०७६ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App