काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइनसकेको बताएपछि सांसदहरुले आपत्ती जनाएका छन्।
संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव खतिवडाले सिमेन्टको मापदण्ड परिवर्तन गरिएको फाइल तयार भएपनि संसदबाट पारित भइनसकेको र राजपत्रमा समेत प्रकाशित नभएकाले लागू नभएको बताइन्।
लगतै बोलेका समितिका सभापति भरतकुमार शाहले सचिव खतिवडाले झुट बोलेको आरोप लगाए। उनले मन्त्रीलाई समेत हस्ताक्षर नगराई फाइल राखेको भन्दै समितिलाई झुक्याउने प्रयास नगर्न सचिव खतिवडालाई आग्रह गरे।
त्यस्तै सचिव खतिवडाले नेपालको पश्चिमी क्षेत्रको चुनढुंगा खानीमा ६/७ प्रतिशत सम्म अघुलनशिल पदार्थ (म्याग्रेसियम अक्साइड) को मात्रा रहेको बताएपछि सांसदहरु झनै आक्रोशित भएका थिए।
सांसद धर्माशीला चापागाईले नेपालको कुनैपनि ढुंगा खानिमा ३ प्रतिशत भन्दा बढी त्यस्तो अघुलनशिल पदार्थ नभएकोभन्दै सचिव खतिवडाको भनाई मान्न तयार नभएको बताए।
प्रकाशित: ७ पुस २०७६ ११:५३ सोमबार