१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद अधिवेशन सुरु

काठमाडौं– सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबारदेखि सुरु भएको छ।

प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी हुन्। अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो।

विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ। सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ।

सभामुख रिक्त हुनाले उपसभामुख तुम्बाहाङ्फेले अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी हुन्। यौन दुर्व्यहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पुर्पक्षका लागि थुनामा छन्।

आजका दिनसम्म कसलाई सभामुख बनाउने भन्नेबारे सत्तारुढ दल नेकपाले निर्णय गरिसकेको छैन। सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुुपर्ने संवैधानिक व्यवस्था छ। 

उक्त व्यवस्थानुसार उपसभामुखलाई नै सभामुख बनाउने वा उनलाई राजीनामा गराएर अर्को सभामुख चुन्ने भन्ने प्रश्नको सम्बोधन हुन बाँकी नै छ।

नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजनीतिक सहमतिपछि  यस अधिवेशनले अन्तिम रुप दिनुपर्ने कार्यभार छ। 

बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाइन्।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो। राष्ट्रपति भण्डारीले गत मङ्सिर २४ गते सङ्घीय संसद्को पाँचौँ अधिवेशन आजदेखि सुरु हुने गरी आह्वान गरिएको थियो। रासस

प्रकाशित: ४ पुस २०७६ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App