१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

कुरा बढी काम कम

काठमाडौं – सरसर्ती कुरा सुन्ने हो भने निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिम्मेवारी पूरा गर्दैनन् भन्ने पत्याउन गाह्रो पर्छ। तर पछिल्लो २१ महिनामा उनले कुराअनुसार काम भने गर्न सकेनन्।

जनकपुर–जयनगर–कुर्था खण्डमा रेल सञ्चालन गर्नेदेखि लिएर पानीजहाज चलाउने, काठमाडौंका सडक खाल्टाखुल्टीविहीन तथा यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गर्ने उनका सुरुआती योजना भाषणमै सीमित रहे। उनले भन्ने गरेका ती कुनै योजना मन्त्रीबाट बाहिरिने बेलासम्म पूरा हुन सकेनन्। जनकपुर–जयनगरमा रेल चल्ने मिति त उनले तेस्रो पटकसम्म तोके।

चार÷वर्षअअघि सुरु गरिएका केही सडक र पुलको निर्माणलाई लिएर उनले प्रगति–विवरण पेस गर्ने गरे पनि आफैंले सुरु गरेको कामको नतिजा देखाउन सकेनन्। सूर्यविनायक–नगरकोट खण्डलगायत विभिन्न सडकमा समयमा काम नगर्ने ठेकेदारलाई समेत कारबाही गर्न नसक्नु उनको कमजोरी रह्यो।

भौतिक पूर्वाधारको मुख्य जिम्मा पाएको मन्त्रालयको बागडोर सम्हालेका महासेठको धेरैजसो ध्यान यातायात, सडक विभागलगायत निकायमा काम गर्ने कर्मचारीको सरुवा गर्नमै केन्द्रित रह्यो। मन्त्रालयको जिम्मेवारी सम्हाल्दा भौतिक पूर्वाधार मन्त्रालयले गर्ने काम सहरी विकास र संघीय मामिला मन्त्रालयले गर्न नहुने बताए पनि २१ महिनासम्म उनले ती मन्त्रालयबीच समन्वय गर्ने प्रयास गरेनन्। विकास निर्माणको काम एउटै छातामुनिबाट हुनुपर्छ भन्ने मान्यता कार्यान्वयन गर्न÷गराउन उनले सिन्कोसमेत भाँचेनन्।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दा महासेठले पाँच वर्षमा काठमाडौंलाई जाममुक्त गर्ने बताएका थिए। पाँच वर्षसम्म मन्त्रालयको जिम्मेवारी सम्हाल्न नपाए पनि २१ महिनामा उनले काठमाडौंलाई जाममुक्त बनाउने कुनै योजना अघि सार्न सकेनन्। विकासका जति योजना अघि बढे, सबै नियमित कार्यतालिकाअनुसार भए। महासेठको योजना काठमाडौंका विभिन्न स्थानमा सडकलाई ठूलो पार्नेदेखि लिएर कतै आकाशे पुल निर्माण त कतै सुरुङ मार्ग बनाउनेसम्मका थिए।

प्रकाशित: ६ मंसिर २०७६ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App