६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दलले गरे आचारसंहिता पालनाको प्रतिबद्धता

काठमाडौं – सरकार र प्रमुख राजनीतिक दलले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा आचारसंहिता पूर्णरूमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन आयोगले निर्वाचनको तयारी र आचारसंहिताको विषयमा जानकारी दिन बिहीबार आयोजना गरेको बैठकमा विभिन्न १६ वटा राजनीतिक दलले उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।

बैठकमा सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एनपी साउद लगायत दलका प्रतिनिधिको उपस्थिति थियो। बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित हुने कार्यक्रम भए स्वास्थ्यका कारण उपस्थित हुन भने पाएनन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि आयोगले हालसम्म गरेका काम र तयारीको विषयमा जानकारी र आचारसंहिताको विषयमा छलफल भएको बताए। ‘उपनिर्वाचनका लागि हालसम्मको तयारी प्रगति र आचारसंहिता पालनाका लागि दलको प्रतिबद्धताका लागि बैठक बोलाइएको थियो,’ प्रमुख आयुक्त थपलियाले नागरिकसँग भने, ‘उपस्थित सबै दलका प्रतिनिधिले आचारसंहिता पूर्णरूपमा पालना गर्ने र कार्यान्वयनमा सघाउने लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको छ, यसले स्वतन्त्र, निष्पक्ष निर्वाचनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोगले विश्वास लिएको छ।’

यसअघि आयोगले उपनिर्वाचनका लागि आचारसंहिता जारी गरिसकेको छ। आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले भाग लिँदैछन्। आयोले उपनिर्वाचनका लागि ३७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्यायसेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ। २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा/प्रदेशसभा र स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ जना पदाधिकारी गरि जम्मा ५२ पदमा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App