काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले विकास निर्माणको कामलाई तिब्रता दिएको बताएका छन्।
शनिवार रिपोटर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले अबको केही महिनापछि सरकारको कामको परिणाम देखिने बताए। जनताले मेलम्ची खानेपानी आयोजना, उपत्यकाभित्रको सडकका विषयलाई लिएर आक्रोश पोख्ने दिन अब नआउने पनि बताए।
कार्यक्रममा बोल्दै मन्त्री महासेठले पूर्व–पश्चिम रेलमार्ग निर्माण र काठमाडौं–केरुङ रेलमार्गमा पनि काम भइरहेको बताए। नेपाललाई चीन र भारत दुबै तर्फबाट रेलको संजालले जोड्ने आयोजनाको काम प्रक्रियागत रुपमा धेरै अगाडि बढेको उनको भनाई छ। कुनै पनि काम लक्ष्य भन्दा बाहिर नभएको मन्त्री महासेठले स्पष्ट पारे। बोल्दै मन्त्री महासेठले विकास निमार्णमा ढिला सुस्ती गर्ने जो कोही पनि कारबाहीमा पर्ने बताए।
एक फरक प्रसंगमा मन्त्री महासेठले तत्काल मन्त्रिमण्डमा फेरबदल नआउने स्पष्ट पारे। हरेक दिन पत्रपत्रिका सरकारमा मन्त्रिमण्डलको फेरबदल हुने भनेर समाचार आए पनि त्यसको कुनै संकेत आफुले नपाएको पनि दाबी गरे। मन्त्रिमण्डल फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको अधिकार भएकोले ओलीले नचाहँदासम्म केही नहुने उनको भनाई छ।
मन्त्रिमण्डलको फेरबदलको समाचारहरुमा परिवर्तन हुनसक्ने मन्त्री भनेर पहिलो नम्बरमा भने मन्त्री महासेठको नाम आउने गरेको छ।
प्रकाशित: ९ कार्तिक २०७६ ११:२९ शनिबार