१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्री बाँस्कोटालाई पत्रकार सम्मेलनमै १२ अर्ब भ्रष्टाचारको आरोप लागेपछि...

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा १२ अर्बको भ्रष्टाचार गरेको आरोप लागेपछि पत्रकार सम्मेलनमै झोक्किएका छन्। 

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘तपाईले १२ अर्ब भ्रष्टाचार गरेको भन्नेबारे समाचार आएको छ, सत्य के हो स्पष्ट बताइदिनुस्’ भनेर प्रश्न गरेका थिए। 

मन्त्री बाँस्कोटाले यो प्रश्नको जवाफमा ७ मिनेट लगाएर रवाफका साथ दिए। सुरुमा त उनले जवाफ संसदीय समितिमा दिइसकेको भन्दै ठाडै अस्वीकार गरे। तर, फेरि ‘तपाईहरुले सोधिहाल्नुभयो’ भनेर प्रष्टिकरण दिँदै गए। ‘१२ अर्ब हैन १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने म जे सजाय भोग्नुपर्छ त्यो सम्पूर्ण भोग्न तयार छु’, उनले आत्तिँदै भने, ‘त्यसकारण अफवाहको पछाडि लाग्नुपर्ने कारण छैन।’

मन्त्री बाँस्कोटाले यस विषयमा छानविन गरे आफूलाई कुनै परवाह नहुने पनि बताए। आफ्नो बारे छानविन गर्न उनले चुनौती समेत दिए। ‘छानविन गर्ने कुन कुन निकाय छन्’, उनले भने, ‘अख्तियार, संसदीय समिति, सिआइबी, नेपाल सरकार पनि आफैंले छानविन गर्न सक्छ। नेपाली मिडियाले तथ्य र सत्य छानविन गर्न सक्छ।’

बाँस्कोटा यतिमै रोकिएनन्। ‘त्यसबाहेक नाम चलेका विदेशी निकाय सिआइए, एजिबी, एम सिक्स ल्याएर छानविन गरे पनि मलाई कुनै परवाह हुने छैन’, उनले भने, ‘यस्ता गलत, अर्थहिन, बेकुप तरिकाको जवाफ दिनुपर्छ भन्ने ठान्दिन।’

बाँस्कोटामाथि नेपाल टेलिकमको फोरजी ठेक्कामा १२ अर्ब भ्रष्टाचार गरेको आरोप छ। बुधबार मात्रै नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा नेकपा नेतृ रामकुमारी झाक्रीले समेत टेलिकमको थ्रीजीलाई फोरजीमा स्थानान्तरण गर्ने विषयमा अनियमितता भएको र त्यसमाथि छानविन नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन्।

सञ्चारमन्त्री बाँस्कोटातर्फ संकेत गर्दै उनले १२ अर्बको घोटाला कहाँ गयो भनी प्रश्न गरेकी थिइन्। यसरी पार्टीभित्रैबाट १२ अर्ब घोटालाको प्रश्न उठिरहेका बेला मन्त्री बाँस्कोटा भने छानविन गर्न चुनौती दिइरहेका छन्। 

प्रकाशित: ९ आश्विन २०७६ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App