१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विपिको जन्मजयन्तीमा शशांकले कार्यकर्तालाई भनेः ठूलो मान्छे हैन, असल मान्छे बन्नुस्

मकवानपुर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरी देश र जनताको पक्षमा एकजुट हुनुपर्ने अवस्था आएको बताएका छन्। कांग्रेस मकवानपुरले विपि कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गर्दै उनले आन्तरिक झमेलाबाट मुक्त भएर कम्युनिस्टको गलत कामको भण्डाफोर गर्नुपर्नेमा जोड दिए।

‘पार्टीभित्रको आन्तरिक तिक्ततालाई मेटाएर कांग्रेस एकताबद्ध हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘कम्युनिस्टको गलत क्रियाकलापको भण्डाफोर गर्दै आमजनतामा दोश्रो चरणको जागरण अभियानलाई उपलब्धिमूलक बनाउनुपर्छ।’

पार्टीभित्रकै आन्तरिक कलहले मात्रै कांग्रेस हारेको जिकिर गर्दै उनले कांग्रेसजन एकजुट भए अब कसैले हराउन नसक्ने तर्क गरे। ‘वीपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्र हो,’ उनले थपे, ‘वीपीको सिद्धान्तलाई आत्मसाथ गर्दै सबै नेता, कार्यकर्ता एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडि बढनुपर्छ।’

यसैबीच, प्रजातान्त्रिक विचार समाज प्रदेश ३ ले आयोजना गरेको ‘भावी अर्थनीति र प्रजातान्त्रिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भावनात्मक रुपमा एकता भए कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे। अहिले कांग्रेसमा बीपीको विचारको खडेरी परेको भन्दै उनले सबैलाई बीपीको विचारमा गोलबद्ध हुन आग्रह पनि गरे।

मकवानपुरको चारैक्षेत्रमा छुट्टाछुट्टै गरिएको कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा लगायतले पार्टी सशक्तिकरणलाई तिव्रता दिनुपर्ने बताउँदै कम्युनिस्ट सरकारको गलत कार्यबारे जनतालाई सचेत बनाउनुपर्नेमा जोड दिए।
कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभा १ को क र ख तथा प्रतिनिधिसभा २ को क र ख क्षेत्रमा वी.पी. कोइरालाको जन्मजयन्तीको अवसर पारेर विभिन्न जातका एक सय छ वटा विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुरुवात गरेको हो।

प्रकाशित: २४ भाद्र २०७६ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App