१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचारीलाई जनतासामु नाङ्गेझार पार्न सरकारसँग आँट र साहस भएनः नेता केसी

उदयपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संघीयता र लोकतन्त्रमाथि कसैको गिद्धेनजर पर्न नदिने प्रतिबद्धता जनाएका छन्। बिपी कोइरालाको १०६ औं जन्म जयन्ती तथा दोस्रो चरणको जागरण अभियानको क्रममा उदयपुर आएका नेता केसीले पार्टीनिकट नेपाल प्रेस युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। 

संघीयता र लोकतन्त्र नेपाली जनताको महान् संघर्ष र बलिदानीबाट प्राप्त भएको भन्दै केसीले त्यसमाथि कसैको गलत नजर पर्न नदिनेमा कांग्रेस प्रतिबद्ध रहेको दोहोर्याए। केसीले दुइतिहाई बहुमतको नेकपा सरकार नेपालकै पहिलो सर्वशक्तिमान सरकार भएको भन्दै तर, लोकतान्त्रिक मनोबृत्तिभन्दा फरक र संघीयताको मर्म र भावनाभन्दा अलग तरिकाले सरकार चलेको आरोप लगाए। संघीयता र लोकतन्त्रलाई संस्थागत गर्नेगरी सरकार नचलेकोमा असन्तुष्टि जनाउँदै उनले बहुमतको दम्भ त्यागी काम गर्न सुझाए। दुइतिहाई बहुमतको सरकारमाथि कुनै चुनौती नरहेको अवस्थामा धेरै राम्रा काम गर्न सकिने भए पनि त्यस्तो नदेखिएको उनको आरोप थियो। 

‘दुइतिहाईको सरकार यो इतिहासमै पहिलोपटक गठन भएको हो, त्यसैले यो सरकारमाथि कुनै चुनौती छैन’, पूर्वमन्त्रीसमेत रहेका केसीले भने, ‘तर, यस्तो सजिलो अवस्थामा पनि सरकार जनअपेक्षा अनुसार चल्न नसक्नु लजास्पद कुरा हो।’ सरकारसामु गरिबी, असमानता, भ्रष्टाचारजस्ता चुनौतीबाहेक अन्य कुनै समस्या नभएको भन्दै उनले तर, राम्ररी चल्न नसकेको सरकारले प्रतिपक्षीमाथि दोष थोपरेर उम्कन खोजेको आरोप लगाए। 

सरकारसँग आँट र साहस भए जोकोही भ्रष्टाचारीलाई समातेर जनतासामु नाङ्गेझार पार्नसक्ने हैसियत भएको उनको भनाई थियो। तर, त्यो साहस सरकारसँग नभएकाले देश र जनताका लागि काम गर्ने यति ठूलो अवसर पनि चुक्न लागेको बताए। भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई प्रभावकारी परिचालन गर्न नसकेकोमा पनि केसीको आपत्ति थियो। ‘भ्रष्टाचार जताततै बढ्दै गएको छ, दुइतिहाई सरकारको ध्यान त्यसप्रति गएको देखिएन’, उनले सुझाए, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य नियमन निकायलाई प्रभावकारी रुपमा परिचालन गरोस्।’ 

संघीयताको मर्म र भावना अनुसार चलेसम्म यो सरकारलाई हरेक तरहले साथ दिन नेपाली कांग्रेस तयारा रहेको प्रतिबद्धता जनाउँदै उनले तर, सरकारले प्रतिपक्षीलाई त्यो अवसर अहिलेसम्म नदिएको बताए। 

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको औल्याउँदै केसीले जनताबाट संकलित कर (राजश्व) स्थानीय तहका गाउँगाउँमा लगेर खर्च गर्न सुझाव दिए। प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा विनियोजित रकम कतै खर्च नभएको खर्च गर्दा पनि उपलब्धिमूलक र गतिलो काममा नगरेकोमा उनले असहमति दर्ज गरे। केसीले संकलित करबाट गाउँ बनाउने अभियान चलाएमा समृद्ध नेपाल निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए।

दोस्रो चरणको जागरण अभियानलाई जनस्तरसम्म नयाँ संघर्ष गर्ने अवसर भएको बताउँदै केसीले पार्टीको १४ औँ राष्ट्रिय अधिवेशन सकेसम्म चाँडो हुनुपर्नेमा जोड दिए। गुट र उपगुटमा विभाजित नभई सम्पूर्ण कांग्रेस नेता कार्यकर्ता एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले संघीयता र लोकतन्त्रको रक्षा गर्न पनि कांग्रेस एक हुनुको विकल्प नरहेको बताए। 

प्रकाशित: २४ भाद्र २०७६ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App