२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले असोज ७ मा सरकारविरुद्ध प्रदर्शन गर्ने

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वाइड बडी, न्यारो बडीसहित मुलुकमा व्याप्त हुँदै गएको भ्रष्ट्राचारविरुद्ध देशभरी प्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले भदौ २४ गतेबाट सुरु गर्ने दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रममा कम्युनिस्ट सरकारको कुशासन, अलोकतान्त्रिक विधेयक, महँगीसहितका पाँच मुद्दामा जोड दिने बताएको हो।

असोज ७ मा सबै जिल्लामा विरोध प्रदेशन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको कांग्रेसले भनेको छ, ‘वर्तमान सरकारका अनेक भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याइनेछ।’

कम्युनिस्ट नेतृत्वमा सरकार बनेको दुई वर्ष नपुग्दै नेपाली समाजमा उत्पन्न असन्तुष्टि, निराशा र वितृष्णालाई पार्टीले गम्भीरतापूर्वक लिएको जनाउँदै कांग्रेसले जागरण अभियानमा सामाजिक संवादको माध्यमबाट जनतासँग साक्षात्कार गर्ने जनाएको छ। ‘नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणालीबारेकै विमतिसमेत सम्बोधन गरेर राष्ट्रिय एकताको सूत्रमा कसरी गाँस्ने भन्नेबारे आवश्यक छलफल र बहस विभिन्नस्तरमा अघि बढाइनेछ,’ उसले भनेको छ, ‘जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउने छौं।’

बोल्ने कम सुन्ने बढी कार्यक्रम तय गरेको कांग्रेसले सामाजिक विसंगतिविरूद्ध पनि आफूलाई उभ्याउने जनाएको छ। युवा पुस्तालाई पार्टीभित्र आकर्षण गर्न उनीहरू केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाउँदै उसले प्रत्यक प्रदेशबाट तीन सय युवाका बीचमा बिपीको विचार र संस्कारलाई एक लाख युवासँग संवाद र सम्प्रेषण गर्ने लक्ष्य राखेको छ। वडास्तरीय अन्तक्र्रियालाई जोड दिएको कांग्रेसले तल्लो तहका नेता तथा कार्यकर्ताको भावना बुझ्दै पार्टी संगठन सुदृढ बनाउने दाबी गरेको छ। अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा पुग्ने जनाउँदै उसले पार्टी प्रवेश अभियान चलाउने दाबी गरेको छ।

स्थानीय तह निर्वाचन भएको दुई वर्षको समीक्षा गर्ने कार्यक्रम तय गरेको उसले भनेको छ, ‘कांग्रेस प्रतिपक्ष रहेका तहमा प्रतिपक्षको प्रखर भूमिका कसरी प्रभावकारी बनाउने विषयमा गहिरो विमर्श गरिनेछ।’ संविधानप्रतिको असन्तुष्टि संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने जनाउँदै कांग्रेसले असोज ३ गते संविधानका विषयमा छलफल र कार्यक्रम गर्ने जनाएको छ।

‘तराई–मधेसलगायत मुलुकका कतिपय भू–भागमा रहेका असन्तुष्टिको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वास दिगो बनाउँदै अघि बढ्ने छ,’ उसले भनेको छ।

दोस्रो चरणको जागरण अभियानको १५ बुँदे उद्देश्य तय गरेको कांग्रेसले निर्मला पन्त हत्या प्रकरण तथा प्रेस स्वतन्त्रतामाथि सरकारको बढ्दो हस्तक्षेप जस्ता विषयमा खबरदारी गर्ने बताएको छ। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसँग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रता रक्षाका लागि खबरदारी गर्न छ,’ उसले भनेको छ।

प्रकाशित: २० भाद्र २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App