काठमाडौं - समाजवादी पार्टीसँग एकीकरण गर्ने विषयमा सुरु भएको राष्ट्रिय जनता पार्टी नेपालभित्रको विवाद उत्कर्षमा पुगेको छ। राजपाको एउटा पक्ष पार्टीको महाधिवेशनअगाडि नै समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भन्ने पक्षमा सक्रिय भएर लागेको छ भने अर्को पक्ष तत्काल एकीकरण हुनपर्छ भन्ने छैन।
यी दुई पक्षवीच पार्टीभित्र चरम विवाद र गुटबन्दी सिर्जना भएको छ। महाधिवेशनपछि मात्र एकीकरण गर्नुपर्छ भन्ने पक्षमा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव र अनिल झा छन् भने महाधिवेशनअघि नै एकीकरण गर्नुपर्ने पक्षमा महन्थ ठाकुर, राजेन्द्र महतो, महन्द्र यादव र शरतसिंह भण्डारी उभिएका छन्।
समाजवादी पार्टीसँग एर्कीकरणका लागि राजपाले महतोको संयोजकमा वार्ता टोली गठन गरेको छ। तर झा–राजकिशोर पक्षले वार्ता टोलीका संयोजकले पार्टी नै विघटन गर्न खोजेको आरोप लगाएका छन्। ‘वार्ता टोलीका संयोजकज्यू पार्टीले बोलाएको बैठकमा आउनुहुन्न तर बाहिर बसेर पार्टी विघटन गर्नेसम्मका षडयन्त्रमा हुनुहुन्छ,’ अध्यक्षमण्डलका सदस्य झाले भने, ‘वार्ता टोलीका संयोजकज्यूले पार्टी एकीकरणका लागि को कोसँग के के कुराकानी गर्नुभयो भन्ने केही जानकारी छैन। ’ पार्टीभित्र विवाद भइरहका बेला अध्यक्ष मण्डलका संयोजक राजकिशोरले शुक्रबार र शनिबार राजनीतिक समितिको बैठक बोलाएका छन्।
तर शुक्रबार र शनिबार बोलाइएको बैठकमा आफू नजाने घोषणा अध्यक्षमण्डलका अन्य सदस्यले गरेका छन्। ‘शुक्रबार र शनिबार बोलाइएको भनिएको राजनीतिक समितिको बैठकबारे मलाई कुनै जानकारी छैन। ’ अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले भने, ‘अध्यक्ष मण्डलसँग सरसल्लाह गरेर बैठक बोलाउनुपर्नेमा त्यसो नगरी बोलाइएको बैठकमा हामी जाने कुरा हुँदैन। ’
झाले भने अध्यक्षमण्डलका संयोजकलाई राजनीतिक समितिको बैठक बोलाउने अधिकार विधानले दिएको भन्दै विधानअनुसार संयोजकले बैठक बोलाएको बताए। उनले भने, ‘विधानमा भएको व्यवस्था अनुसार संयोजकज्यूले बैठक बोलाउनुभएको हो। यसमा सबैलाई जानकारी गराएको हो। ’
भदौ २ गते बोलाइएको राजपा अध्यक्षमण्डलको बैठकबाट पार्टीभित्र विवाद बढ्न थालेको हो। सो बैठकमा अध्यक्षमण्डलका दुई सदस्य महतो र भण्डारी अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन। राजपाको विधानमा अध्यक्षमण्डलको बैठक बस्न ६ वटै अध्यक्ष अनिवार्य उपस्थित हुनुपर्छ। एकजना अध्यक्ष मात्र अनुपस्थित भएमा बैठक बस्न सक्दैन। उक्त दिन राजकिशोरले बैठक बोलाएका थिए। उनी साउन ६ गते देखि अध्यक्षमण्डलका संयोजक भएका छन्। राजकिशोरले बोलाएको बैठकमा अनिल झा मात्र उपस्थित थिए भने महन्थ ठाकुर र महेन्द्र राय यादव पनि ढिलो गरी गएका थिए।
राजपा र समाजवादी पार्टी एकीकरणका विषयमा दुइ –चार दिन यता एक–दुईपटक औपचारिक वार्ता भएका छन्। ती वार्तामा झा र राजकिशोरलाई बोलाइन। असोज ६ देखि अध्यक्ष मण्डलको संयोजकमा पुन ठाकुर हुँदैछन्। ठाकुर अध्यक्षमण्डलको संयोजक भएपछि मात्र अध्यक्षमण्डलको बैठक बस्ने भएको छ। त्यसयता राजकिशोरले बोलाएको बैठकमा अन्य अध्यक्ष उपस्थिति हुने सम्भावना देखिएको छैन,’ स्रोतले भन्यो। महतो, भण्डारी र यादवले भने महाधिवेशनअघि नै पार्टी एकीकरणको प्रयास सुरु गरेका छन्। कात्तिक अन्तिम साता राजपा महाधिवेशनको तिथि तय गरिएको छ।
राजपा र समाजवादी पार्टीबीच भएको औपचारिक वार्तामा एकीकृत पार्टीको पहिलो अध्यक्ष ठाकुर, दोस्रो स्थानमा भट्टराई, तेस्रो स्थानमा यादव र चौथो स्थानमा महतोलाई राख्ने विषयमा करिब सहमति भएको दुवै पार्टीका नेता बताउँछन्। राजपाका एक पदाधिकारी भन्छन्, ‘पार्टी एकीकरणका लागि सबैभन्दा ठूलो समस्या भनेको नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्ने विषय हो। नेतृत्वको विषयमा सहमति जुटेपछि एकीकरण गर्न समस्या हुँदैन।
शुक्रबार रातिसम्म चलेको वार्तामा सैद्धान्तिक विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ। राजपाले संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री मानेको छ भने समाजवादी पार्टीले प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीलाई स्वीकार गरेको छ। यसैगरी समाजवादी पार्टीले पूर्ण समानुपातिक प्रणाली स्वीकार गरेको भने राजपाले अहिलेको जस्तो मिश्रित निर्वाचन प्रणाली स्वीकार गरेको छ। यो विषयमा पनि सहमति जुुट्ने राजपाका नेताहरू बताउँछन्।
कात्तिकसम्म दुइ पार्टीबीच एकीकरण भएने भने कात्तिक २८,२९ र ३० गते तय राजपाको एकता महाधिवेशन प्रभावित हुने भएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्यहरू महाधिवेशनको तयारी भन्दा पार्टी एकीकरणको विषयमा बढी केन्द्रित हुन थालेपछि महाधिवेशन तयारी अघि बढ्न सकेको छैन। यसबाट तोकिएको मितिमा एकता महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको छ। राजपाले यसअघि कात्तिकमा महाधिवेशन गर्न जेठ मसान्तसम्म सक्रिय सदस्य र साधारण सदस्यता वितरण गर्ने र असार १० सम्म त्यसको संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो तर सोअनुसार काम हुन सकेको छैन।
प्रकाशित: १२ भाद्र २०७६ ०१:१७ बिहीबार