१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

भिडियो कन्फरेन्स कति सुरक्षित

काठमाडौ - उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक गरेका छन्। ओली स्वास्थ्यउपचारमा जानु एक दिन पहिला भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले बैठक सञ्चालन कार्यविधि संशोधन गरी जहाँबाट पनि बैठक गर्न सक्ने प्रावधान राखिएको हो।

सोही संशोधित कार्यविधि र प्रविधिको सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट मन्त्रिपरिषद् बैठक आयोजना गरेका छन्। प्रविधिको सदुपयोगका हिसाबले नेपालको इतिहासमा यो पहिलो घटना भए पनि सुरक्षाका हिसाबले भने प्रश्नहरु उठेका छन्। आइटी विज्ञहरुलेभिडियो कन्फरेन्समार्फत गरिने बैठक सूचना चुहावटको हिसाबले सुरक्षित नहुने बताएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्र्रेसले प्रधानमन्त्रीको भिडियो कन्फरेन्समार्फत बैठक गरेर राज्यको गोपनीयताको चिरहरण गरेको बताएको छ। प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक गरेर नौटंकी गरेको आरोप लगाउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले राज्यको गोपनीयता भंग गरेर राज्यको चिरहरण गर्ने काम गरे।’ मुलुकका गोप्य सूचना सबै बाहिरिने अवस्था आएको बताउँदै पौडेलले भने, ‘मन्त्रिपरिषद् बैठकको यो नाटकले राज्यको सूचनामा खेलबाड गर्ने काम नहोस्। यसले राज्यका केही सूचना बाँकी रहँदैन। यो आपत्तीजनक छ।’

आइटी सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका विजय लिम्बु भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहावटका हिसाबले जोखिमपूर्ण हुने बताउँछन्। ‘भिडियो कन्फरेन्समार्फत बैठकहरु गर्दा कसैले चाहेमा बीचमै चुहिन र दूरुपयोग (म्यान इन द मिडल अट्याक) हुन सक्ने सम्भावना हुन्छ,’ लिम्बुले भने।

भिडियो कन्फरेन्सका लागि प्रयोग गरिएको नेटवर्कले पनि यो कति सुरक्षित छ भन्ने कुरा तय हुने लिम्बु बताउँछन्। सुरक्षाका हिसाबले सार्वजनिक नेटवर्कभन्दा भर्चुअल प्राइभेट नेटवर्क सुरक्षित हुने उनी बताउँछन्। ‘प्रधानमन्त्रीज्यूले कुन नेटवर्क प्रयोग गर्नुभयो भन्ने कुराले त्यो भिडियो कन्फरेन्स कति सुरक्षित छ भन्ने कुरा तय गर्छ’, उनले भने। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालसँग प्रधानमन्त्रीले प्रयोग गरेको भिडियो कन्फरेन्सको नेटवर्कका बारेमा जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरे। ‘यो विषयमा मलाई जानकारी छैन,’ अर्यालले भने।

‘नेपाल नै सम्झिरहेको छु’
प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सका क्रममा आफूले उपचारका क्रममा सिंगापुरमा भए पनि सम्झनामा नेपाल नै रहेको बताएका छन्। ‘मैले यता उपचार गरिरहँदा पनि सम्झनामा नेपाल नै छ,’ ओलीले भिडियो कन्फेरन्समा बोलेको उद्धृत गर्दै मन्त्रिपरिषद्का एक सदस्यले भने। ओलीले आफूले उपचार गराइरहेको र सुधार हुँदै गइरहेको बताएका थिए।

उनले नेपालको परिस्थितिबारे जानकारी लिँदै कुनै समस्या भएमा आफूलाई सम्पर्क गर्न आग्रह गरेका थिए। सोमबारको बैठक कुनै अजेन्डामा छलफल गर्न भन्दा पनि कार्यकारीका हिसाबले ब्रिफिङ मात्र भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। भिडियो कन्फरेन्सका क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै नेपालको अवस्था सामान्य रहेकाले आफ्नो स्वास्थ्यप्रति सचेत रहन सुझाव दिएका थिए।

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोमबार मन्त्रिपरिषद्को औपचारिक बैठक नभएको दाबी गरेका छन्। प्रधानमन्त्रीसँग मन्त्रिपरिषद्का सदस्यहरुले भिडियो कन्फरेन्समात्र गरेको जानकारी दिँदै बास्कोटाले भने, ‘भिडियो कन्फरेन्सको साधारण प्रयोग मात्र गरिएको हो, बैठक नै गरिएको होइन।’

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका क्रममा लामो समय सिंगापुर बस्नुपर्ने अवस्था आएमा त्यसको प्रयोग गर्न सकिने धारणा राख्दै मन्त्री बास्कोटाले भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहिन्छ भन्नु गलत भएको बताए। ‘त्यसो त हामीले टेलिफोनमा पनि कुरा गरिरहेका छौं। त्यस्तै हो भिडियो कन्फरेन्सबाट बैठक गर्नु पनि।’

सोमबारको भिडियो कन्फरेन्समा प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाका बारेमा जानकारी लिनुका साथै मन्त्रिपरिषद्का सदस्यहरुले स्वास्थ्यलाभको शुभकामना दिएको जानकारी दिँदै बास्कोटाले भने, ‘प्रधानमन्त्रीलाई सात डोज औषधि दिनुपर्ने भनिएकोमा दुई डोज दिइसकिएको छ। उहाँमा आएको स्वास्थ्यसुधारले पूरै सात डोज दिनु पनि पर्दैन जस्तो छ।’

प्रकाशित: १० भाद्र २०७६ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App