१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रोकियो ल्यापटप खरिद प्रक्रिया, सांसदकै विरोध

काठमाडौं - प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई ‘ल्यापटप कम्प्युटर’ खरिदका लागि अर्थ मन्त्रालयले तत्काल बजेट नदिने भएपछि संसद् सचिवालयमा ल्यापटप खरिद प्रक्रिया रोकिएको छ। सांसदको विरोधबीच संसद् सचिवालयले बोलपत्रको प्रक्रिया अघि बढाई साउनको दोस्रो साता अर्थ मन्त्रालयमा रकम निकासा गरिदिन पत्र पठाएको थियो। तर अर्थ मन्त्रालयले चालू खर्च शीर्षकमा सामान खरिदका लागि बजेट नभएको, संसद् सचिवालयले पुँजीगत खर्चको कुनै शीर्षकको रकमबाट बजेट रकमान्तर गरी ल्यापटप खरिद गर्न आग्रह गर्दै साउनको अन्तिम साता पत्र पठाएको थियो। ‘संसद् सचिवालयमा विभिन्न शीर्षकमा छुट्ट्याइएको रकम सो शीर्षकमै खर्चका लागि रकमान्तर गर्न सकिने अवस्था नभएकाले सचिवालयले ल्यापटप खरिद प्रक्रिया रोकेको छ,’ संसद् सचिवालयका एक अधिकारीले बताए।

संसद्को अवधि चार वर्ष बाँकी रहेको र सो अवधि सकिएपछि सबै ल्यापटप फिर्ता गर्ने गरी दिन लागिएकोे थियो। सांसदलाई ल्यापटप दिने विषयमा सांसदबाटै कडा विरोध भए पनि खरिद प्रक्रियामा सचिवालय कुनै कुरा नसुनी अघि बढेको थियो।

अर्थ मन्त्रालयबाट रकम नआएपछि ल्यापटप खरिदका लागि स्वीकृति पाएको ललितपुरको काष्ठमण्डप एसिया इन्टरनेसनलसँग सचिवालयले सम्झौता गर्न सकेको छैन। सम्झौता नगरेपछि उसले एक महिना पनि ढिला भए आफूले प्रस्ताव गरेको दर रेटमा ल्यापटप खरिद गर्न नसक्ने बताएको छ। समयमै खरिद गर्न सकिएन भने सामानको मूल्यवृद्धि हुने भएकाले खरिदमा ढिलाइ भए सो कम्पनीले बोलपत्र रद्द प्रस्ताव गर्ने चेतावनी दिएको स्रोतको भनाइ छ। काष्ठमण्डपले मूल्य अभिवृद्धिकरसहित दुई करोड ८८ लाख १६ हजार १७ रुपैयाँमा बोलपत्र दर्ता गराएको थियो। यस आधारमा अब प्रत्येक सांसदले ८६ हजार दुई सय ७५ रुपैयाँ ५० पैसाको ल्यापटप पाउने भएका थिए।

संसद्मा पहिलो पटक प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदलाई एकैपटक तीन सय ३४ थान ल्यापटप दिने गरी बोलपत्र गरेको थियो। पुँजीगत खर्चलाई चालू खर्चमा रकमान्तर गरी सांसदलाई ल्यापटप खरिद गर्न स्वीकृत गरेको अर्थ मन्त्रालयले रकमान्तर गरेको बजेट असार मसान्तमा फ्रिज भएपछि अर्को रकम निकासा नगरेको हो। अर्थ मन्त्रालयले जेठको दोस्रो साता रकमान्तर गरेपछि सचिवालयले जेठ १९ गते ल्यापटप खरिदका लागि बोलपत्र गरेको थियो। बोलपत्रको प्रक्रिया पूरा गर्दागर्दै असार मसान्त कटेपछि रकमान्तर गरेको रकम फ्रिज भएको थियो।

संसद्को अवधि चार वर्ष बाँकी रहेको र सो अवधि सकिएपछि सबै ल्यापटप फिर्ता गर्ने गरी दिन लागिएकोे थियो। सांसदलाई ल्यापटप दिने विषयमा सांसदबाटै कडा विरोध भए पनि खरिद प्रक्रियामा सचिवालय कुनै कुरा नसुनी अघि बढेको थियो। प्रतिनिधिसभाको गत जेठको अन्तिम साता संसद् बैठकमा नेकपा नेता भीम रावलले सांसद्लाई ल्यापटप खरिद गर्ने विषयको विरोध गर्दै ‘सांसदलाई ल्यापटप किन्ने काम नहोस्, ल्यापटप चलाउन चाहनेले स्वयं व्यवस्था गर्नु उचित हुन्छ’ भनेका थिए।

सांसद रामकुमारी झाँक्रीले सांसदलाई मसिना कुरा बाँडेर हुर्मत लिने काम भएको बताएकी थिइन्। ‘तीन सय ३४ सांसद्लाई ल्यापटप बाँड्ने निर्णय भएको कुरा बाहिर आइरहेको छ। यो कुराले मलाई दुःख लागिरहेको छ। सांसदलाई यस्ता झिनामसिना कुरा बाँड्ने र हुर्मत लिने काम बेलाबखत भइरहेको छ,’ झाँक्रीले भनिन्, ‘यस्ता कुराले सांसदहरूप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ।’

प्रकाशित: ७ भाद्र २०७६ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App