१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘एस  जयशंकर आउँदा नेपालले भीख माग्न हुन्न्, आफ्नो कुरा स्पष्टसँग राख्नुपर्छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भट्टराईले नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको सुनाए। यद्यपि उनले कतिपय विषयहरु समाधान उन्मुख रहेका पनि जिकिर गरे। 

उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको विश्वास दिलाए। उनले भने, ‘भारतसँग सीमा, डुबानलगायत १९५० को सन्धी र इपिजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ।’

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणको बेला नेपालले भीख माग्न नहुने दीक्षितको सुझाव छ। उनले संयुक्त बैठकमा जलविद्युतदेखि सीमा बाँध, डुबान, सिँचाईसम्मका आफ्ना कुरा स्पष्टसँग राख्नुपर्ने सुझाव दिए।

उनले विगतका समस्याहरु समाधान गर्दै आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनुपर्ने र विदेश सम्बन्धका आधारभुत कुराहरुमा अघि बढाएर अघि बढ्ने सुनाए। नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुने पनि उनले विश्वास दिलाए। भारतीय विदेशमन्त्री जयशंकर अनुभवी र कुटनीतिक करियरबाट आएकोले उनले सोहीअनुसार नेपाल–भारत सम्बन्धलाई सही र सकारात्मक दिशातर्फ डोर्याउने पनि बताए। 

भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) महत्वपूर्ण प्रयास र पहलकदमी भएकोले प्रतिवेदनमा आफूहरुले दुई देशबीचका महत्वपूर्ण विषयहरु समावेश गरेकोले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए। उनका अनुसार प्राविधिक कारणले गर्दा भारतीय पक्षले प्रतिवेदन बुझ्नमा ढिलाई गरेको हुनसक्छ। तर, प्रतिवेदन नै बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनको दाबी छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपिजीको प्रतिवेदन बुझ्नेमा आफू ढुक्क रहेको भट्टराईको भनाई छ। 

कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए। 

सिंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाए। ‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ’, उनले भने।

सिंहले अहिले नेपाल–भारत द्धिपक्षीय सम्झौताहरु धमाधम कार्यान्वयनको दिशामा अघि बढिरहेको पनि सुनाए। संयुक्त आयोगको बैठक दुवै देशको लागि उचित फोरम भएको सुनाउँदै सबै पक्षमा खुलेर कुराकानी गर्नुपर्ने उनले सुझाए। 

कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने धारणा राखे। उनले भने, ‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ।’

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने दीक्षितको सुझाव छ। उनले संयुक्त बैठकमा हाइड्रोदेखि इरिगेशनसम्मका कुरा अघि बढ्नुपर्ने पनि धारणा राखे। 

उनले बाढीले नेपाल र भारत दुवै देशका जनता पीडित बनेको सुनाउँदै यो समस्याको दिर्घकालिन समाधान खोज्नुपर्ने बताए। दीक्षितले भारतले कश्मिरमा चालेको कदमबारे नेपालले कुरै नगर्ने भनेर परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अभिव्यक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाए। 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिटलरको संज्ञा दिँदा त्यो गलत हो भनेर नेपालले भन्न सक्नुपर्ने थियो भन्ने उनको भनाई थियो। दुवै देश सार्कको सदस्य राष्ट्र भएकोले यो क्षेत्रमा शान्ति कायम गर्नु नेपालको पनि दायित्व रहेको दीक्षितले उल्लेख गरे। 

भारतमा मोदी दोस्रो कार्यकालको लागि पाँच वर्षको प्रधानमन्त्रीको रुपमा आएकोले नेपालले भारतसँग ठूलो फाइदा लिनसक्ने उनको भनाई छ। 

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल सरकारले दया गरेर केही पनि माग्न नहुने उनको धारणा छ। उनले भने, ‘जयशंकर अत्यन्तै खारिएका र अनुभवी कुटनीतिज्ञ हुन। उहाँ आउनुभन्दा अघि हाम्रो परराष्ट्रमन्त्रीले कश्मिरको मामिलामा हामी बोल्दैनौं भनेर नचाहिने काम गर्नुभयो।’ उनले भारतीय विदेशमन्त्रीलाई नेपालले राम्रो स्वागत गर्नुपर्ने पनि सुझाव दिए। 

प्रकाशित: ३ भाद्र २०७६ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App