१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्य निरूपण आयोगमाथि हेलचक्र्याँइ

काठमाडौं - सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नहुँदा यो आयोग निस्क्रिय बनेको छ।  आयोग भए पनि पदाधिकारी नहुँदा यसको प्भावकरिता निष्प्रभावी बन्न पुगेको हो।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले आयोग गठन नभएको भन्दै आपत्ति जनाए।

सांसद शर्माले सरकारले द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउने र मेलमिलाप गराउने काम अधुरो रहनु यसमाथिको हेलचक्र्याँइ भएको बताए।  ‘शान्ति प्रक्रियाको महŒवपूर्ण विषय सम्बोधन हुनुपर्दछ,’ उनले भने।  उनले आयोगका पदाधिकारी नियुक्तका लागि सिफारिस समिति गठन भएको सुनेको भन्दै छिटो पदाधिकारी नियुक्त गर्नुपर्ने बताए।

सत्य निरूपण तथा बेपत्ता छानबिन सम्बन्धि आयोगको एक वर्ष म्याद थप गरेपछि आयोगका पदाधिकारी नहुँदा पीडितले न्याय पाएका छैनन्।  सत्य निरूपण अयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र बेपत्ता छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले गत फागुनमा राजीनामा दिएका थिए।  सरकारले आयोगका अध्यक्ष सिफारिसका लागि समिति गठन गरे पनि समितिले सिफारिस गरिसकेको छैन।

२०७१ वैशाख २८ गते जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम नेपाल सरकारको २०७१ माघ २७ को निर्णयअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन भएको हो।  यसैगरी उनले जनताले निर्माण गरेको संघीयतामा प्रश्न उठाउने काम गरिएको बताए।  ‘त्याग र बलिदानबाट आएको संघियता बालकले गुडिया जस्तो पहिला मनपर्छ पछि मन पर्दैन भने जस्तो होइन,’ उनले भने।

नेकपाका सांसद् झपटबहादुर रावलले सरकारबाट कति नागरिकता खारेज गरियो त्यसको जानकारी माग गरे।  ‘सरकारले ८ जना भारतीयको नागरिकता खारेज गरेको कुरा बाहिर आएको भन्दै खारेज गर्दैमा कसैलाई उन्मुक्ति दिन मिल्दैन, त्यसरी नागरिकता दिने कर्मचारीलाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने।

कांग्रेस सांसद दिलेन्द्र बडुले एकातिर सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ जारी राख्ने अर्कातिर संसद्मा राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयकमाथिको छलफल स्थगित गर्ने कार्यले शंका उत्पन्न भएको बताए।  उनले परिचयपत्र छपाइका लागि निकै ठूलो रकमको चलखेल भएको हुनसक्ने बताए।

राजपाका नेता प्रमोद शाहले रेडियो नेपालबाट भोजपुरी र मैथली भाषा बजाउन छाडिएकोमा आपत्ति जनाए।  उनले नेपालको दोस्रो भाषा मैथली भएको बताउँदै २८ लाखभन्दा बढीले बोल्ने भाषाको समाचार रोक्न नहुने बताए। नेकपा सांसद बिनाकुमारी श्रेष्ठले कलंकीको सामाजिक मार्गमा डा.विष्णु शर्मा नेपाललको घरमा तेस्रो तलामा छोरी पढेको ठाउँमा गोली प्रहार भएको छ, १० दिन बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन भन्दै यसबारे सरकारले छिटो अपराधी पत्ता लगाई कारबाही गर्न माग गरिन्।

नेकपाका सांसद विरोध खतिवडाले नेपालमा सुनको माग ४० किलो रहेको तर नेपाल राष्ट्र बैंकले २० किलोमात्र सुन किन्ने क्षमता राख्दछ, तर बिक्री ४/५ किलो भन्दा हुँदैन भन्दै बाँकी मागको पूर्ति तस्करबाट हुने भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए।

कांग्रेस सांसद सुजाता परियारले सदनमा एसी नचल्दा गुम्सिनु परेको बताइन्।  एसीमा पानी नभएर नचलेको कुरा आएको छ भन्दै एसीमा राख्ने पानी खोज्न कहाँ जानुपर्ने हो भन्ने प्रश्न गर्दै पेट्रोल भन्दा पानी नै महँगो भयो भन्दै ध्यानाकर्षण गराएकी थिइन्।

प्रकाशित: २४ श्रावण २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App