५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सांसदः ‘संसदीय समिति बैठक स्थगित गर’, नेकपा सांसदः ‘हुँदैन’

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।

नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसदद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढीपहिरो र डुबानपीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरे।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी कांग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबानपीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न माग गरिन्। प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने उनले तर्क गरिन्।

कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले जनता पीडामा रहेका बेला राहत तथा उद्धारमा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ समितिकी सभापतिको ध्यानाकर्षण गराए।
सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरे।

सत्तारुढ नेकपाका सांसदहरूले भने कानुन निर्माणको काममा ढिलाइ हुने दाबी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भए पनि संसदीय समितिका बैठकहरू भने स्थगित गर्न नहुने धारणा राखेका थिए।

प्रकाशित: ३१ असार २०७६ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App