१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘बहुपक्षीयता र कानुनमा आधारित व्यवस्थाको पक्षमा छौं’

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल बहुपक्षीयता र कानुनमा आधारित व्यवस्थाको पक्षमा रहेको बताएका छन्। मंगलबार नेकपाका नेता विष्णु रिजालले सम्पादन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अध्यास, राजदूतहरूको अनुभव’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले ठूला मुलुकले कानुनमा आधारित व्यवस्थाको उल्लंघन गर्दा नेपाल जस्ता साना मुलुक अप्ठेरोमा पर्ने गरेको बताए।

‘अहिले शक्तिशाली मुलुक कानुनमा आधारित व्यवस्थाको सट्टा सम्झौतामा आधारित व्यवस्थातर्फ अघि बढिरहेका छन्। यसले साना मुलुक समस्यामा पर्ने अवस्था आइरहेको छ,’ मन्त्री ज्ञवालीले भने। उनले शक्तिशाली मुलुकले कानुनमा आधारित व्यवस्था वेवास्ता गर्दा पनि केही फरक नपर्ने तर नेपाल जस्ता साना मुलुकलाई यस्ता व्यवस्था भत्किँदा निकै ठूलो असर पुग्ने बताए।

मन्त्री ज्ञवालीले राष्ट्रिय हितमा बोल्दा त्यो कसैको विरुद्ध नहुने भन्दै स्पष्ट पारे। ‘हामी आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्छौँ, यसो गर्दा कसैको विरुद्ध बोलिएको भन्ने हुँदैन,’ उनले भने। कतिपयले नेपालको अवस्था निकै कमजोर भएको भन्दै गलत प्रचार गरेको भन्दै मन्त्री ज्ञवालीले विगतमा विषम परिस्थितिमा पनि पुर्खाले जोगाएकाले अहिले तर्सिनुपर्ने अवस्था नभएको बताए। विगतमा विभिन्न शक्तिहरुले नेपालका शक्तिशाली छिमेकमा राज गर्दासमेत नेपाल स्वतन्त्र हुन सकेको भन्दै उनले यसमा तत्कालीन नेतृत्व र कूटनीतिले काम गरेको बताए।

नेपालको विदेश नीति सन्तुलित भएकाले नेपाल सुरक्षित रहेको उनको भनाइ थियो। पुस्तकका बारेमा चर्चा गर्दै मन्त्री ज्ञवालीले उक्त पुस्तक नेपालको ५० वर्षे कुटनीतिको आँखीझ्याल भएको बताए। पुस्तकमा नेपालको कूटनीतिक अभ्यासको अभिलेखीकरण भएकाले पुस्तकमार्फत पुराना कूटनीतिक अभ्यास पुस्ताले थाहा पाउन मद्दत पुग्ने बताए। उनले पुस्तकमार्फत लेखकले इतिहासको तस्बिर प्रस्तुत गरेको भन्दै नेपालका कूटनीतिज्ञले अप्ठेरो परिस्थितिमा पनि कसरी काम गरेका रहेछन् भन्ने कुरा पुस्तकबाट थाहा पाइने बताए।

पुस्तकबारे पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, पूर्वपरराष्ट्र सचिव एवं पूर्वराजदूत डा. मदनकुमार भट्टराई, पत्रकार युवराज घिमिरेलगायतले समालोचना गरेका थिए। पुस्तकको प्रकाशनबारे परराष्ट्र सचिव शंकरदास बैरागी र प्रराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले पनि आ–आफ्नो धारणा राखेका थिए। २० जना पूर्वराजदूतका कूटनीतिक अनुभव समेटिएको पुस्तकको प्रकाशन परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गरेको हो।

प्रकाशित: २५ असार २०७६ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App