२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्देशिका लत्याउँदै राजदूत सिफारिस

काठमाडौं - राजदूत नियुक्तिका लागि परराष्ट्र सेवाअन्तर्गत भए विशिष्ट वा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी हुनुपर्ने र बाह्य क्षेत्रबाट भए मुलुकको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक क्षेत्रमा महत्वपूर्ण दक्खल राख्ने वा योगदान पु-याएका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट सिफारिस गरिने कुरा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा उल्लेख भए पनि सरकारले यो मापदण्डलाई लत्याएको छ। निर्देशिका वर्तमान सरकारले नै बनाएको हो।

सरकारले हाल सिफारिस गरेका चारजनामध्ये दावाफुटी शेर्पा र महेशप्रसाद दाहालको योग्यता निर्देशिकामा उल्लेख भएअनुसार छैन। सिफारिसमा परेका दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनका बासिन्दा हुन्। लामो समय नेपाली कांग्रेसमा सक्रिय महेशप्रसाद दाहाल गत असोजमा मात्र नेकपामा प्रवेश गरेका थिए। उनको राजदूत बन्ने मुख्य योग्यता नेकपाका अध्यक्ष दाहालनिकट हुनु नै हो। दाहालकै निकट भएकाले उनले पार्टीमा प्रवेश गरेको छोटो समयमै महत्वपूर्ण जिम्मेवारी पाएको स्रोतको दाबी छ।

यसअघि पटकपटक राजदूत सिफारिस तथा नियुक्ति विवादमा पर्ने गरेपछि सरकारले ६ पृष्ठ लामो निर्देशिका तयार पारेको थियो। सरकारले निर्देशिका बनाए पनि सार्वजनिक गरेको थिएन। नागरिकले ‘सूचनाको हक’ प्रयोग गरी उक्त निर्देशिका प्राप्त गरेको हो। आफैंले बनाएको मापदण्ड मिचेर राजदूत सिफारिस गरेपछि सरकार विवादमा परेको छ। स्पेनका लागि शेर्पा र अस्ट्रेलियाका लागि दाहाललाई सिफारिस गरेपछि सरकार आलोचित हुनुपरेको हो। यी दुवैजनाको निर्देशिकामा उल्लेखित भएअनुसारको कूटनीतिक पृष्ठभूमि छैन।

स्पेनका लागि दावाफुटी शेर्पा र अस्ट्रेलियाका लागि महेशप्रसाद दाहाललाई राजदूत सिफारिस गरेपछि सरकार आलोचित हुनुपरेको हो। यी दुवैजनाको निर्देशिकामा उल्लेख भएअनुसार कूटनीतिक पृष्ठभूमि छैन।

सरकारले हालै अस्ट्रेलिया, स्पेन, कतार, बंगलादेशसहितका देशका लागि राजदूत सिफारिस गरेको छ। शेर्पा, दाहाल, नारद भारद्वाज र वंशिधर मिश्रलाई राजदूतमा सिफारिस गर्दा सरकारले आफैंले तयार पारेको निर्देशिका उल्लंघन गरेको हो। सिफारिसमा परेका यी कुनै पनि नामबारे परराष्ट्र मन्त्रालयबाट प्रक्रिया सुरु नभएको स्रोतको दाबी छ। यतिसम्म कि राजदूतको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपहिले पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई यस विषयमा जानकारीसमेत नरहेको स्रोतको दाबी छ।

केही समयअघि मात्र उच्चशिक्षा हासिल गरेर फर्किएकी शेर्पाको कूटनीतिक पृष्ठभूमि छैन। हेलिकोप्टर दुर्घटनामा दिंवगत आङ छिरिङ शेर्पासँग विगतमा प्रधानमन्त्री ओलीको राम्रो सम्बन्ध भएकै कारण अहिले उनकी भतिजी दावाफुटी राजदूत सिफारिसमा परेको पनि स्रोतहरुको भनाइ छ। निर्देशिकामा राजदूत नियुक्तिका लागि योग्यतामा भनिएको छ, ‘न्यूनतम ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको हुनुपर्नेछ।’

असोजमा कांग्रेसबाट नेकपा प्रवेश गरेका महेशप्रसाद दाहाल नेकपा अध्यक्ष प्रचण्ड निकट भएकै कारण राजदूत सिफारिस भए।

त्यस्तै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको, भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय/बहुपक्षीय कूटनीतिका आयामबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको र नियुक्त भई जाने मुलुकको कार्यसम्पादनको ज्ञान वा अनुभव भएको हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ।

निर्देशिकामा राजदूत हुनका लागि अंग्रेजी भाषाको राम्रो ज्ञान भएको, सम्बन्धित मुलुकमा हित बाझिने अवस्था नरहेको र नियुक्तिका बेला कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायतामा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको हुनुपर्ने पनि उल्लेख छ। उच्च नैतिक चरित्र भएको, कालो सूचीमा नपरेको, लाभको पद धारण गरी वा विदेशी राष्ट्रले नियुक्ति गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए अवकाश लिएको १० वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड निर्देशिकामा उल्लेख छ।

प्रकाशित: १९ असार २०७६ ०१:०३ बिहीबार

राजदूत निर्देशि सिफारिस