२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज': अध्यक्ष तिमिल्सिना

कास्की - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)मार्फत  पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सारेको बताएका छन्।

भण्डारीको ६७औँ जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउण्डेशन नेपाल कास्की’ले शुक्रबार आयोजना गरेको ‘मदन भण्डारी साँझ’को उद्घाटन गर्दै उनले प्रतिष्पर्धात्मक क्षमताबाट श्रेष्ठता हासिल गर्ने, पार्टीलाई लोकतान्त्रिकरण गर्ने, कार्यकर्ताको भावनाअनुसार नेतृत्व चयन गर्ने र चल्ने परिपाटीको शुरुआत भण्डारीले गरेको बताए। उनले भने “हामीले जनताको बहुदलीय जनवाद भनेका छौँ, मदन भण्डारीलाई सम्झिरहेका छौँ, कम्युनिष्ट आन्दोलन अगाडि बढाउन उहाँले जुन विचार अगाडि सार्नुभयो त्यसमा पार्टी जीवन, आन्दोलन र समग्र राज्यसत्ताको लोकतान्त्रिकरणका प्रमुख तीन पक्ष छन्।”

अध्यक्ष तिमिल्सिनाले कम्युनिष्ट पार्टीले शान्तिपूर्ण आन्दोलनमार्फत जनताको साथबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिन्छ र राज्य सत्ताको लोकतान्त्रिकरणका लागि आवधिक निर्वाचन र प्रतिष्पर्धामार्फत शासनसत्ता सञ्चालन गर्ने कुरालाई स्थापित गरेको उल्लेख गरे। फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाले स्व भण्डारीले प्रतिपादित गरेको जबजको सिद्धान्तबाट नै करीब दुई तिहाइको मतसहित नेकपाले सरकारको नेतृत्व गरेकाले सो विचारलाई वडातहसम्म जनताको बीचमा लगिने र फाउण्डेशन गठन गरिने बताए।

कार्यक्रममा कलाकार बद्री पङ्गेनी, प्रजापति पराजुली, तारापति सुवेदी, शङ्कर विरही गुरुङ, सरला पाण्डे, हास्य कलाकार राजाराजेन्द्रलगायतको प्रस्तुति रहेको थियो। रासस

प्रकाशित: १४ असार २०७६ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App