४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वाधारका लागि सांसदलाई दिएको बजेटको विरोध

मकवानपुर - तीन नम्बर प्रदेश सभामा प्रदेश पूर्वाधार कार्यक्रमका नाममा सांसदलाई बजेट छुट्याइएको भन्दै सांसदले विरोध गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष (आव) २०७६÷७७ को राजस्व तथा व्ययको अनुमानमाथि प्रारम्भिक छलफलमा प्रतिपक्षी दल राप्रपा संयुक्तकी सांसद रिना गुरुङले नीतिनियम बनाउने सांसदलाई रकम दिएर भ्रष्ट्राचार चरम रूपमा बढ्ने बताइन्। ‘सांसदले विभिन्न मन्त्रालयमा योजना पेस गरेका छन्,’ उनले प्रश्न गरिन्, ‘अब पनि सांसदलाई तीन करोड किन ?’

सांसद भनेको नीतिनियम बनाउने व्यक्ति भएको भन्दै उनले सांसदलाई पैसा बाँड्न थाले चरम भ्रष्ट्राचार बढ्ने भन्दै फिर्ता लिन आग्रह गरिन्। विश्वमै नभएको चलन ६ महिनाअघि मात्र ‘भ्रमण दशक’ तोकी प्रदेश सरकारले महाजात्रा देखाएको र परम्परागत पर्व र जात्रामाथि अंकुश लगाउन संघीय सरकारले गुठी विधेयक ल्याएको आरोप लगाइन्।
सांसदले सांसदलाई पैसा बाँडेर उनीहरूको भूमिका प्रभावित पार्न खोजेको आरोप लगाए।

 प्रतिपक्षी दल राप्रपा संयुक्तकी सांसद रिना गुरुङले सांसद भनेको नीतिनियम बनाउने व्यक्ति भएकाले पैसा बाँड्न थाले चरम भ्रष्ट्राचार हुने बताइन्।

कांग्रेसका सांसद सन्तबहादुर प्रजाले बजेट समावेशी र समानुपातिक नभएको भन्दै बजेट थप गरेर भए पनि समान कार्यविधि बनाउन माग गरे। ‘प्रदेश पूर्वाधार कार्यक्रममा एक अर्ब ५८ करोड छुट्याइएको छ, यो बजेट संविधानले व्यवस्था गरेको समानुपातिक र समावेशी सिद्धान्तलाई कुठाराघात गरेको छ, समान हैसियतलाई खलबल्याएको छ,’ उनले भने, ‘थप बजेटको व्यवस्था गरी समान कार्यविधि बनाउनुहोस्, बरु प्रदेश पूर्वाधार कार्यक्रममा कम्तीमा तीन अर्ब ३० करोड पु-याउनुहोस्।’

सत्तारुढ नेकपाका सांसदले भने प्रदेश पूर्वाधार कार्यक्रम अति आवश्यक र उचित रहेको भन्दै प्रतिपक्षीको विरोध गर्दै बजेटको स्वागत गरे। नेकपाका सांसद लक्ष्मण लम्सालले कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई तीन करोडबाट बढाएर १० करोड पु¥याउनुपर्नेमा जोड दिए। नेकपाकै सांसद ओम घलानले भने ‘कत्ति कुरा नभनेरै मिठा हुन्छन्’ गीत स्मरण गराउँदै बजेटको धेरै आलोचना गर्नुको तुक नभएको बताए। ‘बजेट समग्रमा राम्रै छ, चिटिक्क पारेर ल्याइएको छ,’ उनले थपे, ‘विरोधका नाममा राम्रो कामको विरोध नगर्न आग्रह गर्दछु।’

नेकपाका सचेतक सांसद रामेश्वर फु“यालले बजेटले समावेशिता र समानुपातिक उच्चतम अभ्यास गर्न खोजेको दाबी गरे। ‘विकासको चेतना र भौतिक विकासलाई बजेटले मुख्य ध्यान दिएको छ,’ उनले भने, ‘प्रदेशको समृद्धिका लागि श्रम, सिर्जना र रोजगारीलाई अगाडि बढाउन बजेटले विशेष भूमिका खेल्नेछ।’ नेकपाकै सांसद प्रेमबहादुर पुलामीले सरकारले राम्रो सोचले बजेट ल्याएकोमा अत्यन्तै राम्रो भएको बताए। कांग्रेसका सांसद प्रभात तामाङले बजेटले निजी क्षेत्र र सार्वजनिक क्षेत्रलाई समेटी अगाडि बढ्नुपर्ने बताए।

सांसद शोभा शाक्यले बजेट जनतामुखी हुनुपर्ने भन्दै १३ जिल्लामा समान रूपमा बजेट नछुट्याएको भन्दै गुनासो गरिन्। सांसद कल्पना नेपालीले कृषिमा दुई सयजना प्राविधिक भनेर कर्मचारी र कार्यकर्ता पोस्ने काम गर्न लागेको आरोप लगाइन्।

प्रकाशित: ७ असार २०७६ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App