१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुठी विधेयक तत्काल सच्याउन सांसदको माग

काठमाडौं – प्रतिनिधिसभाका सांसदले गुठी विधेयक तत्काल सच्याउन माग गरेका छन्। गुठी विधेयकले मुलुकको धर्मसंस्कृतिका साथै परम्परामाथि प्रहार गरेको आरोप लगाउँदै सांसदहरुले त्यसलाई सच्याउन आग्रह गरेका हुन्।

केपी ओली नेतृत्व सरकारले संविधानका मूल मर्ममाथि नै प्रहार गर्न लागि परेको आरोप लगाउँदै कांग्रेस सांसद गगनकुमार थापाले पशुपति शर्माको गीत बन्द गराउनेदेखि गुठीलाई मासेर सांस्कृतिक पहिचान मास्ने षड्यन्त्र गरेको धारणा राखे। ‘बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा हानेको त झन् अस्ति मात्रै हो,’ थापाले भने, ‘हाम्रो संविधानले विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकमा स्थापित गर्दै भन्छ, यो आधारभूत अधिकारको आत्मा हो। यो कसैले दिने होइन, कसैबाट पाउने होइन, यो अहरणीय छ।’

स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै थापाले नेपाली कांग्रेसका सांसदको विरोध हुँदाहुँदै संसद्बाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयकले कुनै पनि व्यक्तिलाई जिस्काउने, झुक्याउने, हतोत्साहित बनाउने, धम्क्याउने आसयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा पाँच वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको सजाय भोग्नुपर्ने बताए। ‘जिस्काउने, झुक्याउने, होच्याउनेको परिभाषा के ? यस्तै अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउनेछ,’ उनले भने।

सरकारले ल्याएका विधेयकविरुद्ध उठ्ने र बोल्ने समय अहिले नै भएको बताउँदै थापाले थपे, ‘यो कानुन यो संसद्बाट पारित हुनु भनेको यो संविधानको खिलाफमात्र होइन, हाम्रो आन्दोलनको, हाम्रो अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा हो त्यसैले म सबैलाई आजैबाट यो कानुनका बारेमा सुसूचित रहन र यसका बारेमा लेख्न बोल्न अपिल गर्न चाहन्छु।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरे। गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीचको दूरी फराकिलो बन्दै गएको भन्दै खतिवडाले थपे, ‘वार्ताका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद सत्यनारायण शर्मा खनालले भूमाफिया र नेपाली संस्कृति विरोधीको बहकाउमा उचालिएर सरकारले गुठी विधेयक ल्याएको भन्दै जनविरोधी विधेयक फिर्ता लिनुपर्ने बताए।

तर नेकपाका सांसद शान्ता चौधरी र गंगा चौधरीले गुठी विधेयकको समर्थन गरे। विधेयकको विषयमा गलत प्रचार भएको उनीहरुले आरोप लगाए। मोही किसानको हकमा पनि आवाज उठाउनुपर्ने भन्दै शान्ताले थपिन्, ‘गणतन्त्र किन चाहियो गरिबका लागि बोल्न हुदैन भने ?’ सांसद गंगा चौधरीले गुठी विधेयकविरुद्ध भाडाका मान्छे प्रयोग भएको आरोप लगाइन्।

प्रकाशित: २ असार २०७६ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App