२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजापाको प्रश्न : संविधान संशोधन कहिले ?

काठमाडौं- राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद शाहले सरकार गठनको समय देखि नै संसदमा संविधान संसोधनको विषय उठिरहेको हुदा पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहँदा पनि अझैसम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाए। उनले राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संसोधनका लागि रुलिङ गर्न सभामुखसंग आग्रह गरे।

उनले संविधान बनाउने नै संविधान उलंघन गरेको दाबी गरे। संविधान भन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा राष्ट्रपति र उपराष्ट्रपति भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उनले संविधान कार्यान्वयन तर्फ सरकारलाई सचेत गराए। सरकारले संघीयताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको उनको आरोप छ।

सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद शाहलाई बोल्नका लागि समय दिएका थिए।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०६:०८ मंगलबार

राजपा संविधान संशोधन