५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। केपीशर्मा ओली नेतृत्वको सरकारले जनतालाई सुशासन दिन नसकेको भन्दै नेविसंघ सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको हो। 

नेविसंघको प्रदर्शन शंकरदेव क्याम्पस हुँदै बागबजार, पुतलीसडक तथा पद्मकन्या क्याम्पस अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई विद्यार्थी नेताहरु मोतिलाल भण्डारी, लिलावल्लभ दाहाल, शिव रिमाल लगायतले सम्बोधन गर्दै सरकारको कडा आलोचना गरेका थिए। आगामी दिनमा सरकार नसच्चिए अझैं कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिए। 

प्रदर्शनका क्रममा नेविसंघका कार्यकर्ताले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने गरी संसदमा दर्ता भएको विधेयक फिर्ता लिनुपर्ने माग गरेका थिए। 

उनीहरुले सरकार भ्रष्टाचारमा लिप्त भएको, निर्मला पन्त हत्याकाण्ड, वाइडबडी जहाज काण्ड, सुन तस्करी काण्ड, सरकारी जग्गा अतिक्रमण काण्ड, एनसेल करछली काण्ड, चिनी काण्ड लगायत काण्डै काण्ड आतंक मच्चाइरहेकाले आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको बताएका थिए।

राष्ट्रियतामाथि नै खतरा हुनेगरी संविधानविपरित नागरिकता वितरण गरेको, सत्ता र शक्तिको आडमा संवैधानिक निकायमाथि हस्तक्षेप गरेको, स्वतन्त्र न्यायपालिकालाई नियन्त्रणमा राख्नेगरी वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी उन्मुख भएको उनीहरुको आरोप छ। विश्वविद्यालयको स्वायत्तता माथिको हस्तक्षेप र निजी विद्यालयले लिने चर्को शुल्क तथा शिक्षा क्षेत्रमा देखिएको बेथितिविरुद्ध आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ। 

प्रकाशित: १४ जेष्ठ २०७६ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App