काठमाडाैं - द्वन्द्वकालीन घटनाका मुद्दाको सत्यतथ्य पत्ता लगाउन खडा गरिएका दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले छुटेका प्रमाणपत्र पेस गर्न थप तीन दिन समय दिएको छ ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका आवेदकलाई छुटेका प्रमाणपत्र बुझाउन समितिले तीन दिनकोे समय दिएको हो ।
समितिले गत चैत २५ गते सात दिनको म्याद दिएर आवेदन आह्वान गरेको भए पनि पछि १० दिन थपेर गत वैशाख १७ गेतसम्मका लागि समय दिएको थियो।
समितिले आज सूचना नै जारी गरी उम्मेदवारका प्रमाणपत्र छुटेका उम्मेदवारलाई तीन दिनभित्र पेस गर्न भनेको थप समय दिएको हो।
मन्त्रिपरिषद्को चैत ११ गते बसेको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा पाँच सदस्यीय सिफारिश समिति गठन गर्ने निर्णय गरेको थियो। समितिले पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेर काम अघि बढाएको छ । रासस
प्रकाशित: २५ वैशाख २०७६ १५:५३ बुधबार