३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

४७ प्रतिशत बालबालिका पोषणयुक्त खानाबाट वञ्चित

काठमाडौं - ४७ प्रतिशत बालबालिकाले पौष्टिक आहार खान नपाएको शिशु तथा बाल्यकालीन पोषण शाखाले जनाएको छ। नेपाल जनसांख्यिक सर्वेक्षणले सो औंल्याएको हो। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखाले सो जानकारी सार्वजनिक गरेको हो। सर्वेक्षण अनुसार ४६ प्रतिशत गर्भवती महिला, ५३ प्रतिशत ५ वर्ष मुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हेलेन केलर इन्टरनेसनलले सन् २०१७ मा काठमाडौं उपत्यकामा बालबालिकामा अस्वस्थकर खाजासम्बन्धी सर्वेक्षणअनुसार ७५ प्रतिशतभन्दा बालबालिकाले अस्वस्थकर खाजा खाने गरेको पाइएको छ। त्यसैगरी, नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणअनुसार कुपोषणको कारण ३८.८ प्रतिशत बालबालिकामा पुड्कोपना छ। पुड्कोपना गर्भदेखि दुई वर्षको अवधिभित्र हुन्छ। नवजात शिशुमध्ये ५५ प्रतिशतले जन्मेको १ घण्टाभित्र आमाको दूध खाएको, ६६ प्रतिशतले मात्र ६ महिनासम्म आमाको मात्र दूध खुवाइएको तथ्यांक छ।

४७ प्रतिशत पौष्टिक आहार नपुगेका बालबालिका भनेको नेपाल सरकारले मापन गरेको चार आधारभूत खाना नपुगेको अवस्था हो। पोषण मापदण्डअनुसार पशुजन्य खाना दूध÷दही, घिउ, दोस्रोमा अन्नजन्य खानाहरु तेस्रोमा फलफूलजन्य र चौथोमा हरियो सागपात लगायतका खाना हुन्। मापदण्डअनुसार पोषणयुक्त खाना नपाएका बालबालिका सबैभन्दा बढी ४ नम्बर प्रदेशमा रहेको पोषण शाखाले जनाएको छ। प्रदेश नम्बर ४ सहित देशका अन्य जिल्लामा पनि यो समस्या रहेको पोषण शाखाका प्रमुख केदारराज पराजुलीले बताए। पराजुलीका अनुसार उनीहरुमा खानेकुराको स्रोत भए पनि मिलाएर खाने चेतनाको अभावका कारण पोषण नपुगेको हो।

शाखाका अनुसार शिशु गर्भमा रहेदेखि १ हजार दिनभित्र अर्थात् वच्चाको दोस्रो जन्मदिनको अवधिभित्र हुने वच्चाहरुको शरीर तथा मस्तिष्क विकास हुने अवधि भएकाले यो अवधिमा सही पोषण पुग्नुपर्छ। यो अवधिमा पोषण नपुगेका बालबालिकाको मस्तिष्क तथा शारीरिक विकास नभई स्वस्थ बच्चा हुन नसक्ने हुनाले १ हजार दिनभित्रै अर्थात् गर्भदेखि नै आमालाई पर्याप्त पौष्टिक आहार पुग्नुपर्ने, जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउनु पर्ने, शिशुलाई ६ महिनाभित्र अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउने र दुई वर्षभन्दा बढी अवधिसम्म आमाको दूधको साथमा अन्य पौष्टिक खानेकुरा खुवाउन पोषण शाखाका प्रमुख पराजुलीले सुझाए। शिशुको पोषण सुनिश्चत गर्न ६ महिनासम्म सुत्केरी बिदा हुनुपर्ने पनि पोषणविद्को सुझाव छ।

त्यसै गरी पाँच वर्षमुनिका बालबालिकालाई चारवटा आधारभूत पौष्टिक आहार खुवाउनु पर्ने उनीहरुले सुझाएका छन्। गर्भदेखि दुई वर्षभित्रका बालबालिकामा पोषणको कमी रहेमा बालबालिकामा पुड्केपना, सुकेनास, फुकेनासजस्ता लक्षण देखिने पोषण शाखाले जनाएको छ। कुपोषित भएका बालबालिकामा पछि गएर विभिन्न गम्भीर दीर्घरोगको शिकार भई देशको उत्पादन क्षमतामै प्रभाव पर्ने भएकाले बालबालिकालाई कुपोषणवाट बचाउन सबैको भूमिका हुनुपर्ने उनीहरुको सुझाव छ। कुपोषित बालबालिकाका पछि गएर पुड्के हुने र जन्मिने सन्तान पनि पुड्के हुने, पाचनप्रणाली, श्वास–प्रश्वास, कलेजोको रोगलगायत लाग्ने र स्वस्थ व्यक्तिले सरह उत्पादनमा योगदान पु-याउन सक्दैनन्।

देशमा विद्यमान पोषणको कमीलाई सम्बोधन गर्न सरकारले बहुक्षेत्रीय पोषण अवधारणाअनुसार कृषि तथा सहकारी मन्त्रालयमार्फत पोषण उत्पादन गर्ने कार्यक्रम अघि सारेको छ। जसअनुसार हरेक घरमा करेसाबारी, हरेक घरमा बाख्रा तथा पशुपालन हुनुपर्ने, कुखुरा हुनुपर्ने जस्ता कार्यक्रम जारी राखेको छ। यी खानेकुरा मिलाएर खाने चेतना विस्तार गर्न मिडियामार्फत वकालत गर्ने, भिटामिन कार्यक्रमहरु स्वास्थ्य मन्त्रालयले चलाएको जनाएको छ। पहिलेको तुलनामा कुपोषणको अवस्था घटिरहेको शाखाले जनाएको छ। तर सहश्राब्दी विकास लक्ष्य २०३० लाई पूरा गर्न सरकारले पोषण कार्यक्रमलाई थप तीव्र रुपमा अघि बढाउनुपर्ने जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App