१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रञ्जुले अख्तियारमा मुद्दा हालेपछि बिना मगर आक्रोशित, चरित्र हत्या नगर्न चेतावनी

काठमाडौं– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग जोडेर आफ्नो चरित्र हत्याको प्रयास भइरहेको आरोप लगाएकी छिन्। 

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै खानेपानी मन्त्रालय र मन्त्रीविरुद्ध उजुरी दिएका बेला बुधवार विज्ञप्ति जारी गर्दै मन्त्री मगरले प्रमाणविना आफ्नो स्वार्थपूर्तिका लागि चरित्रहत्या नगर्न चेतावनी दिएकी छिन्।

‘यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ?’ उनले प्रश्न गरेकी छिन्, ‘आफ्नो स्वार्थपूर्तिका लागि कसैमाथि चरित्रहत्या गर्ने अधिकार उनलाई छैन। यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो।’  

मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न आफू लागिरहेको र ठेकेदार कम्पनी सिएमसी आर्थिक रुपमा टाट पल्टिँदा निर्माणको कार्यमा अवरोध पुगेको स्पष्ट पार्दै मन्त्री मगरले मेलम्ची खानेपानी विकास समिति आफैंमा स्वायत्त, अधिकारसम्म निकाय भएको र सहजीकरणबाहेक मन्त्रीको प्रत्यक्ष भूमिका नरहने जानकारी गराएकी छिन्। ‘विषय यति प्रस्ट हुँदाहुँदै नियोजित रुपमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी हो’, उनले भनेकी छिन्। 

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न मन्त्रालय र विकास समितिले विभिन्न विकल्पमा छलफल गरिरहेको मन्त्री मगरको भनाई छ। ‘राजनीति जनताका लागि, जनताको सेवाका लागि’ भन्ने मुल मन्त्रसहित अघि बढिरहेको भन्दै उनले आफ्नो राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहासप्रति हेक्का राख्न आग्रह गरेकी छिन्। 

अख्तियारमा उजुरी गर्न पाउने अधिकारको आफूले सम्मान गर्ने तर त्यसको लागि तथ्यगत प्रमाण हुनुपर्नेमा जोड दिँदै मन्त्री मगरले मेलम्ची आयोजनामा अनियमितता भएको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारेकी छिन्। 

अनियमितता प्रमाणित नभए चरित्रहत्याको जिम्मेवारी रञ्जुले लिनुपर्ने मन्त्रीको भनाई छ। ‘यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ?’ उनले प्रश्न गरेकी छिन्, ‘आफ्नो स्वार्थपूर्तिका लागि कसैमाथि चरित्रहत्या गर्ने अधिकार उनलाई छैन। यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो।’  

प्रकाशित: १४ चैत्र २०७५ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App