तनहुँ– नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा व्यास नगरपालिका–६ शिसाघाटका सुनील कुमाल, व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार र जुम्लाका अमर बुढा रहेका छन्।
प्रहरीले विप्लव समूहका नेता तथा कार्यकताहरूलाई केही दिनदेखि निगरानी बढाएको छ। पक्राउ परेकामध्ये कुमाल अखिल क्रान्तिकारी लमजुङका अध्यक्ष, सुनार दलित मोर्चा तनहुँका अध्यक्ष र बुढा जुम्लाका जिल्ला सदस्य हुन्।
बूढालाई बन्दिपुर गाउँपालिका–५ याम्पाबाट, सुनार र कुमाललाई उनकै घरबाट सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
पक्राउ परेकाहरूबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीन जनाविरुद्ध नै मंगलबार जिल्ला अदालत तनहुँबाट राज्यद्रोहको मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दिपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो।
प्रकाशित: १२ चैत्र २०७५ ०८:५७ मंगलबार