११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजपाको महाधिवेशन फेरि सर्ने

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ। महाधिवेशन मिति वैशाख ७ देखि ९ नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेका छैन।

अध्यक्षमण्डलका सदस्यहरूले तोकेकै समयमा महाधिवेशन गर्ने दाबी गर्दै आए पनि वैशाख पाहिलो साता महाधिवेशन हुनेमा पार्टीका अधिकांश नेता तथा कार्यक्रकर्ता नै विश्वस्त छैनन्। राजपाले सदस्यता वितवरण अभियान फागुन मसान्तसम्म समय तोकेको छ। यसअघि फागुन १५ सम्म सदस्यता वितरण कार्यक्रम टुंग्याउने भनिएकोमा अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवले मंगलबार विज्ञप्ति निकाली फागुन मसान्तसम्म सदस्यता वितरणको समय थपेका छन्।

फागुनसम्म सदस्यता वितरण गरे महाधिवेशनको आन्तरिक तयारी गर्न राजपालाई एक महिना मात्र समय हुनेछ। एक महिनाभित्र राजपाको वडा, गाउँ÷नगर, क्षेत्रीय, जिल्ला तथा प्रदेश अधिवेशन हुने सम्भावना कम रहेको पार्टीका नेताहरू बताउँछन्। अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अहिलेसम्म तोकेको समयमा महाधिवेशन गर्ने प्रयास रहेको बताए। उनले भने, ‘अहिलेसम्म हाम्रो प्रयास तोकेको समयमा महाधिवेशन गर्ने नै हो। त्यसका लागि तयारी गर्दैछाैँ।’तर दोस्रो तहका अधिकांश नेता तोकेको समयमा महाधिवेशन हुनेमा विश्वस्त छैनन्। वरिष्ठ उपाध्यक्ष बिर्खेशचन्द्र लालले अहिलेसम्मको तयारी हेर्दा तोकेको समयमा महाधिवेशन हुने सम्भावना निकै कम रहेको प्रतिक्रिया दिए। उनले भने, ‘अहिलेसम्मको तयारी हेर्दा महाधिवेशनको तिथि केही सर्ने सम्भावना छ।’ महासचिव राजीव झाले पनि वैशाखको पहिलो साता महाधिवेशन हुने सम्भावना निकै कम देखिएको बताए। ‘यथार्थमा भन्नुपर्दा महाधिवेशनको तिथि केही समय पर्छ। एक महिनाभित्र आन्तरिक तयारी गर्न समय पग्दैन।’

‘अहिलेसम्मको तयारी हेर्दा महाधिवेशनको तिथि केही सर्ने सम्भवना छ। यथार्थमा भन्नुपर्दा महाधिवेशनको तिथि केही समय पर्छ। एक महिना भित्र आन्तरिक तयारी गर्न समय पग्दैन।’

सहमहामन्त्री डा.सुरेन्द्र झाले त अध्यक्षमण्डलको संयोजकमा महन्थ ठाकुर नल्याउँदासम्म महाधिवेशन हुन नसक्ने ठोकुवा गरे। ‘जुन दिन (मंसिर४)मा अवैधानिक किसिमबाट अध्यक्षमण्डलका संयोजक परिवर्तन गरी राजेन्द्र महतोलाई संयोजक बनाइयो त्यो दिनदेखि पार्टीभित्र समस्या आयो,’ झाले भने, ‘त्यसैले सो निर्णय सच्याएर ठाकुरलाई संयोजक नबनाएसम्म महाधिवेशन हुनै सक्दैन।’

अध्यक्षमण्डलका ६ सदस्यमध्ये महन्थ ठाकुरबाहेक ५ सदस्य बिहीबार नेपालगञ्ज गएका छन्। शुक्रबार उनीहरू नेपालगञ्जमा पार्टीको कार्यक्रममा सहभागी भई शनिबार भैरहवामा प्रदेशस्तरीय कार्यक्रममा सहभागी भएका छन्। २०७४ वैशाखामा राजपा गठन हुँदा अध्यक्षमण्डलका सदस्यहरूले एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता गरेका थिए। पार्टी दर्ता गर्न जाँदा निर्वाचन आयोगलाई पनि सोही प्रतिबद्धता दोह-याएका थिए। प्रतिबद्धताअनुसार महाधिवेशन गर्न गत साल असारमा आयोगले पार्टीलाई ताकेता गरेको थियो। त्यसपछि अध्यक्षमण्डलका सदस्यहरू पार्टीको विधान संशोधन गरी एक वर्षको ठाउँमा दुइ वर्षभित्र महाधिवेशन गर्ने जनाए। पार्टी गठन भएको २०७६ वैशाखमा दुइ वर्ष पुग्दैछ।

राजपाको विधानअनुसार विधान संशोधन गर्ने अधिकार अध्यक्षमण्डलका सदस्यहरूलाई छ। अब फेरि पनि महाधिवेशनको तिथि सार्ने हो भने विधान संशोधन गर्नुपर्ने हुन्छ। विधान संशोधन गर्न अध्यक्षमण्डलका सदस्यहरूलाई त्यती झन्झटिलो प्रक्रिया छैन। पार्टीका ६ अध्यक्ष एक ठाउँमा बसेर तत्काल विधान संशोधन गर्न सक्छन्।
 

प्रकाशित: १९ फाल्गुन २०७५ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App