१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अकस्मात् बन्याे पाथीभारा यात्रा

काठमाडौं -  बिहानको ८ः३० भएको थियो, काठमाडौंबाट हेलिकोप्टर उड्दा। हेलिकोप्टरमा थिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी। गन्तव्य थियो तेह्रथुमको चुहानडाँडा। त्यहाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अवलोकन गर्न गएको मन्त्री अधिकारीसहितको टोली चुहानडाँडा पुग्दा बिहानको ९ः५४ बजेको थियो। झन्डै डेढ घन्टामा पुगेको टोलीले कार्यक्रम सक्दा बिहानको साढे ११ बज्यो। मन्त्री अधिकारी हतारमा देखिन्थे। उनले कार्यक्रमलाई सम्बोधन गर्दै भनेका पनि छन्, ‘काठमाडौं पुग्न हतार छ।’

कार्यक्रमको अध्यक्षता गरिरहेका आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुसँग मञ्चमै भलाकुसारी गर्दै उनले भने, ‘भोलि (बिहीबार) जर्मन जानुपर्ने छ, त्यसको तयारीका लागि चाँडै काठमाडौं पुग्नुपर्छ।’ मन्त्री अधिकारीले आफूसँग पाथीभरा दर्शन गर्न जानेबारे केही कुरै नगरेको अध्यक्ष लिम्बूले बताए। आयोजकले पनि मन्त्री अधिकारीलाई हताररमा देखेपछि कार्यतालिका घटाएर थोरै समयमा कार्यक्रम सकाएको जनाइएको छ। कार्यक्रमस्थल र हेलिकोप्टर राकिराखेको स्थानबीचको दूरी करिब सय मिटर थियो। आयोजकले मञ्चबाटै मन्त्री अधिकारीको बिदाइ गरे।

इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक राकेश पोडार भने मन्त्री अधिकारीको टोलीलाई बिदाइ गर्न हेलिकोप्टरको ढोकासम्मै पुगे। टोली हेलिकोप्टरमा चढेपछि पाथीभरा मन्दिरको दर्शन गर्न सल्लाह हुन थालेको उनले सुनाए। ‘मौसम बिग्रिरहेको छ, त्यता नजाँदा उचित होला भन्दै टोलीका सदस्यबीचमा छलफल हुन थाल्यो,’ प्रहरी निरीक्षक पोडारले भने, ‘उहाँहरूको कुरा मेरो कानमा परेपछि त्यहाँको यात्रा गाह्रो हुने जानकारी गराएँ।’ बिहीबार पोडारले मन्त्री अधिकारीको टोली उड्ने तयारी गर्दै गर्दा को सन्दर्भ जोड्दै भने, ‘के सल्लाह भयो हजुरहरूको ?’ प्राधिकरणका उपमहानिर्देशक श्रेष्ठले दिएको जवाफ सम्झँदै उनले भने, ‘अब काठमाडौं नै जान्छौं।’ प्रहरी महानिरीक्षक पोडारले पनि त्यहीअनुसार आफ्नो निकायमा खबर गरे, ‘मन्त्रीको टोली काठमाडौं आउँदै छ। पोडारका अनुसार चोहानडाँडाबाट हेलिकोप्टर उड्दा ११ः३० बजेको थियो।

अनुमानअनुसार पहिला काठमाडौंकै लागि उडेको भए पनि फेरि हेलिकोप्टरमा पाथीभरा जाने योजनाले मूर्तरूप पाएको हो। सायद टोलीले कार्यक्रमस्थलमा पाथीभराको योजना नसुनाए पनि काठमाडौंबाट जाँदा नै पाथीभराको योजना बनाएको हुन सक्ने अनुमान गरिन्छ। किनकि, पाथिभरा जाने योजना न कार्यक्रम आयोजकलाई भनिएको छ, न त्यसबारे प्रहरीलाई नै खबर गरिएको छ। तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई पनि टोलीले पाथीभरा जानेबारे कुनै जानकारी नगराएको बताइन्।

पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार हेलिकोप्टर मन्दिर पुग्दा झन्डै १ः०० बजेको थियो। हेलिकोप्टर ल्यान्डपछि ठूलो हावहुरीसँगै हिमपात भएको थियो। ताप्लेजुङको मौसम बिहानबाटै बिग्रिरहेको थियो। पाथीभराबाट नउड्दै पाइलट प्रभाकर केसीले सुकेटार विमानस्थल टावर ताप्लेजुङलाई भनेका थिए, ‘यहाँ हेभी स्नोफल भइरहेको छ, अहिले म उड्न सक्दिनँ।’ पाइटल केसीले टावरलाई जानकारी गराउँदा करिब १२ः४० बजेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

मन्दिरका पुजारी आचार्यका अनुसार मौसम बिग्रिएपछि टोलीले हेलिकोप्टरभित्रै चिया पियो। यहीक्रममा मौसम केही खुलेको जस्तो देखियो। टोलीको सल्लाह भयो, ‘अब उडौं, यतिको मौसमले केही असर गर्दैन।’ त्यसपछि पाथीभरा मन्दिरबाट हेलिकोप्टर उड्यो। नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकोप्टर उड्दा १ः३० बजेको थियो। तर हेलिकोप्टरले पाथीभराबाट उडान गरेको जानकारी विमानस्थल टावरलाई गराएको थिएन। हेलिकोप्टर पाथीभराबाट उडेको एक मिनेटभित्रै दुर्घनामा पर्‍यो। फुङलिङ नगरपालिका–१० तारेभीरमा प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको थियो। प्रत्यक्षदर्शीका अनुसार आगोको मुस्लोसहित झरेको हेलिकोप्टर खरानी हुन केहीबेर पनि लागेन। हेलिकोप्टरमा सवार सातैजनाको क्षणभरमै ज्यान गयो। पाथीभराको फेदीबाट प्रहरी र स्थानीय पुग्दा भने हेलिकोप्टर जलिरहेको थियो।

प्रकाशित: १७ फाल्गुन २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App