४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समायोजन लगत्तै नयाँ भर्ना खुल्छ : मन्त्री पण्डित

काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने बताएका छन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे कार्यक्रममा बाेल्दै उनले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना सुरु गरिने बताए। ‘‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’’ उनले भने, ‘‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना सुरु हुनेछ।’’

मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसद्बाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महिनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने बताए। उनले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताए। उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए। ‘‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ। अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु’’ उनले भने, ‘‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु।’’

मन्त्री पण्डितले प्रविधिको प्रयोग गरेर निष्पक्षतापूर्वक जिम्मेवारीअनुसार काम सम्पन्न गर्नेलाई पुरस्कृत र अल्छी मान्नेलाई दण्ड सजाय दिने बताए। उनले मुलुक परिवर्तन भएसँगै कर्मचारीमा पनि परिवर्तन हुनुपर्ने बताए। ‘‘मुलुकमा भएको परिवर्तन कर्मचारीमा परिवर्तन हुनुपर्दछ। अहिले मुलुक सङ्घीयतामा गएको छ। कर्मचारी पनि सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जानुपर्दछ’’ उनले भने।

नवनियुक्त कर्मचारीलाई हसिलो मुहार लाएर राष्ट्र सेवामा लाग्न समेत आग्रह गरे। उनले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए। मन्त्री पण्डितले कर्मचारीलाई अनुशाशित र जिम्मेवार बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए।रासस

प्रकाशित: ४ फाल्गुन २०७५ १०:३६ शनिबार

लालबाबु_पण्डित कर्मचारी_समायोजन