२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालमा लगानी गर्न इजरायल इच्छुक, उच्च प्रविधिको तालिम केन्द्र खोल्न प्रस्ताव

कठमाडौं–  इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्ले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छिन्। 

इजरायलको जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीनसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत शाक्यले यस्तो प्रस्ताव गरेकी हुन्। इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यसमार्फत कृषि, सूचना प्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने राजदूत शाक्यले प्रस्ताव राखेकी हुन्।

इजरायलको स्थानीय समयअनुसार विहानको १० बजे जेरोसेलममा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति रिभलीनले विशेष महत्व दिएका थिए। ‘गार्ड अफ अनर’ सहितको सो कार्यक्रममा इजरायलका राष्ट्रपति र राजदूतबीच आधा घण्टा भन्दा बढी ‘वान टु वान’वार्ता भएको थियो।  

राजदूत शाक्यले राष्ट्रपतिसँगको भेटमा आपसी हित तथा सरोकारका विषयमा छलफल भएको जानकारी दिइन। राजदूत शाक्यले राष्ट्रपतिसँगको भेटमा नेपालमा लगानी गर्न आग्रह गरेको र राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिएको पनि बताइन। ‘इजरायली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ,’ राजदूत शाक्यले भनिन्, ‘राष्ट्रपतिज्यूसँगको भेटमा पनि यो विषयमा कुराकानी भयो। राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिनुभयो। २०१९ मार्च महिनामा नेपालमा लगानी सम्मेलन हुँदैछ। मैले इजरायली लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपतिसमक्ष लगानीको प्रस्ताव गरेकी छुँ।’ शाक्यले आधा दर्जन भन्दा बढी लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि बताइन।

त्यसैगरी भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई  इजरायलको भ्रमणको निम्तो दिएका थिए। राष्ट्रपति रिभलीनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिइन। उनले अप्रिल ९ मा निर्वाचन सकिएपछि आउने नयाँ सरकारले यो प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन।

ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत शाक्यले हिबु्र भाषामै सम्वोधन गरेपछि राष्ट्रपतिले खुलेर कुराकानी गरेका थिए। राजदूत शाक्यको प्रशंसा पनि गरेका थिए। राष्ट्रपतिको भेटको विषयलाई इजरायली सरकारी र अन्य सञ्चार माध्ययमले समेत विशेष महत्व दिएका थिए। 

राजदूत शाक्यले नेपाललाई इजरायली सरकारले विषेश महत्व दिएको भन्दै आगामी दिनमा नेपालको हितमा इजरायली सरकारको सकारात्मक सहयोग रहनेमा आशावादी रहेको बताइन। राजदूत शाक्य माघ २५ गते शुक्रबार इजरायल प्रस्थान गरेकी थिइन। 

प्रकाशित: ३ फाल्गुन २०७५ १०:२६ शुक्रबार

इजरायल डा._अञ्जान_शाक्य लगानी तालिम_केन्द्र