७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मुकेश त्यतिकै बाँचेको होइन, राज्यलाई खबरदारी गर्न हो’

जनआन्दोलन २०६२/६३ का घाइते मुकेश कायस्थ।

बनेपा- जनआन्दोलन २०६२/६३ का घाइते मुकेश कायस्थ मुढो लडेझैं ओछ्यानमा लडेको अबको दुई महिना १२ दिनमा ठ्याक्कै १३ वर्ष पुग्दैछ। घाइते छोराको स्याहारसुसारमा यो अवधि बिताएका आमा मीरा र बाबु कृष्णमान अझै पनि छोरालाई घाइते अगावैको अवस्थामा देख्न चाहन्छन्।

तर, भनेजस्तो सहज छैन, उनीहरुको चाहना पुरा हुन। किनकी उपचारमा संलग्न चिकित्सकहरुले मुकेशलाई लागेको गोलीले उनको मष्तिष्कमा बोल्ने भाग नभएकोले बोल्न नसक्ने बताउँदै आएका छन्।

२०६२ सालमा काठमाडौं चर्केको जनआन्दोलनबाट बनेपा अछुतो रहने कुरै थिएन। २०६२ साल चैत २७ गते बिहानैदेखि सडकमा आन्दोलनकारी नाराजुलुस गरिरहेका थिए। त्यही जुलुसमा मिसिएका मुकेशको बाँया कञ्चटमा प्रहरीको गोली लाग्यो। त्यतिखेर १५ वर्षका थिए उनी। बनेपाकै विद्यासागर बोर्डिङ स्कुलबाट कक्षा ८ को परीक्षा दिइसकेका थिए। यतिखेर उनका साथीहरु स्नातकोत्तर र त्यसभन्दा माथिको तह सकेर विभिन्न पेशा व्यवसायमा संलग्न भइसकेका छन्।

‘घाइते भएको १३ औं वर्षमा मुकेशमा सुधार हुन थालेको लक्षण देखेका थियौं। तर, अचानक यसै वर्षको असार १ गतेबाट उ बिरामी हुन थाल्यो। त्यस अघिसम्मका उसका सबै क्रियाकलापहरु बन्द भयो’, मीराले भनिन्।

शहीद दिवसको अघिल्लो दिन मंगलबार अपराह्न कायस्थ निवास पुग्दा मीरा र कृष्णमान अर्धचेत छोरालाई हेर्दै टोलाई रहेका थिए। ‘जवान छोरालाई खाटमा सुताएर राख्नुबाहेक केही गर्न सक्ने अवस्था छैन। उसका साथीहरु डाक्टर, इन्जिनियर भइसके। मलाई छोराले एक पटक बोलिदिएमात्रै पुग्थ्यो, अरु केही चाहिएको थिएन’, मीराले गहभरि आँसु पार्दै भनिन्।

लगातारको उपचार, आमाबाबुको स्याहारसुसार र फिजियोथेरापी लगायतले मुकेशमा केही परिवर्तन देखिँदै थियो। बोलाउँदा हाँस्ने, मुखैले खाने, देब्रे हात चल्ने, टाउको उठाएर बस्ने अवस्था थियो। घडी लगाउने, इयरफोन कानमा लाने, देब्रे हात मुखसम्म लान्थे, सिरानी लैजाँदा टाउको उठाउँथे।

‘घाइते भएको १३ औं वर्षमा मुकेशमा सुधार हुन थालेको लक्षण देखेका थियौं। तर, अचानक यसै वर्षको असार १ गतेबाट उ बिरामी हुन थाल्यो। त्यस अघिसम्मका उसका सबै क्रियाकलापहरु बन्द भयो’, मीराले भनिन्।

दुई हप्ता बनेपाकै शीर मेमोरियल अस्पतालमा उपचार भयो। अवस्था ज्यूँको त्यूँ भएपछि घरमै फर्काएर फिजियोथेरापी लगायतका साविकको उपचार पद्धति जारी राखे पनि खासै सुधार देखा नपरेको उनको भनाई छ।

‘कतै नसाको कारण हो कि भनेर राष्ट्रिय ट्रमा सेन्टर लग्यौं। त्यहाँ सबै चेकजाँचपछि टाउकोमा पानी जमेको छ। अपरेशन गर्नुपर्छ भनेका थिए। तर, अपरेशनको मितिभन्दा तीन दिन अगाडि उनीहरुले अपरेशन नगर्ने भने’, मीराले भनिन्।

मुकेश पुरानै अवस्थामा फर्कन नसक्ने अन्दाजमा त्यहाँका डाक्टरहरु नै दोधारमा देखिएकाले घर ल्याएको उनको भनाई छ, ‘त्यसपछि दशैं–तिहारले छोप्यो। तत्कालै अन्यत्र लैजाने सोचिएन। तर एक्कासी कानबाट पीपजस्तो आउन थाल्यो। ह्वीलचेयरमा समेत राख्न नसकिने गरि जीउ अह्ररो पार्न थालेपछि आत्तियौं’, मीराले थपिन्।

मुकेशलाई परिवारले ११ महिनासम्म वीर अस्पतालमा राखेको थियो। सानातीना गरी नौ पटकसम्म उनको शल्यक्रिया गरिएको थियो। वरिष्ठ न्यूरोसर्जन डा. गोपालरमण शर्माले मुकेशको उपचार गरेका थिए। पछि मुकेशलाई न्यूरो अस्पताल बाँसबारीमा ६ महिना राखेका थिए। त्यहाँको उपचार पश्चात परिवारले घरमै ‘स्पर्श थेरापी’ चिकित्सा पद्धतिअनुसार उपचार गराउँदै  आइरहेको हो।

ट्रमा सेन्टरका डाक्टरहरुले फिर्ता पठाएपछि पुराना डाक्टर शर्मालाई खोज्दै वीर अस्पताल पुगेका कायस्थ दम्पत्तिले उनी मेडिसिटी अस्पतालमा कार्यरत थाहा पाएपछि मुकेशलाई लिएर त्यहाँ पुगेको बताए।

‘उहाँले सिटी स्क्यान र एमआरआई हेर्दै मुकेशको टाउकोमा पानी जमेको छ। यसलाई निकाल्नका लागि पहिला वीर अस्पतालमा अपेशन गर्दा राखेको भिपीसन्ट निकालेर अर्को राख्नुपर्छ। ३ देखि ४ लाख खर्च हुन्छ भन्नु भयो सरकारले पछि दिइहाल्छ भनेर ऋण गरेरै भए पनि अपरेशन गर्न लगायौं’, कृष्णमानले भने।

 मेडिसिटीमा उपचारका क्रममा ७ हप्ता बिताएका मुकेशलाई औषधिमूलोमा धेरै खर्च आयो। उपचार खर्चबापत सरकारले दिने रकम माग्न मीरा स्वास्थ्य मन्त्रालयमा पुगिन्। १७ लाख रुपैंयाँ लागेको कुरा लिएर जाँदा सचिवबाट उनले हप्की खानु परेको सुनाइन्।

डा. शर्मासहितको टोलीले मेडिसिटीमा मुकेशको टाउकोको सफल अपरेशन गर्‍यो। त्यतिखेरसम्म २ लाख ५५ हजार रुपैंया खर्च भएको उनको भनाई छ, ‘तर अपरेशनको ३ दिनपछि मुकेशलाई हनहनी ज्वरो आएपछि तत्कालै आइसियूमा राख्नु पर्ने अवस्था आयो। फेरि भेन्टिलेटरमा पनि राख्नु पर्‍यो। त्यसपछि त चार्ज मीटरझैं चढ्न थाल्यो’, कृष्णमानले थपे।

 केही दिनमा डिस्चार्ज हुन्छ भनेको मुकेशलाई धेरै समय राख्नु पर्ने भयो। सरकारले मुकेशको सबै उपचार खर्च व्यहोर्ने निर्णय थियो। ‘सरकारलाई बढी भार नपरोस भनेर आइसियूबाट निकालेपछि जनरल वार्डमै राखेर उपचारलाई निरन्तरता दियौं’, मीराले भनिन्।

 मेडिसिटीमा उपचारका क्रममा ७ हप्ता बिताएका मुकेशलाई औषधिमूलोमा धेरै खर्च आयो। उपचार खर्चबापत सरकारले दिने रकम माग्न मीरा स्वास्थ्य मन्त्रालयमा पुगिन्। १७ लाख रुपैंयाँ लागेको कुरा लिएर जाँदा सचिवबाट उनले हप्की खानु परेको सुनाइन्।

 ‘उहाँले किन निजीमा उपचार गर्न गएको भनेर हप्काउनु भयो। ट्रमा सेन्टर जाँदा त्यहाँबाट फर्काइयो, अन्यत्र लैजाउसमेत भनिएन’, मीराले थपिन्, ‘मैले नेता मन्त्रीहरुको झैं विदेशमा उपचार गराएको थिइँन। ट्रमाका डाक्टरहरुले नहेरेपछि पुरानै डाक्टरको विश्वासमा मेडिसिटी गएको हुँ। २०७४ को कात्तिकमा पनि वीर अस्पताल र ट्रमा सेन्टरमा मुकेशलाई लगेको थिएँ। त्यतिखेर पनि मेरो छोराको अवस्था यस्तै हो भनेर होला, उहाँहरुले उपचारमा चासो नै दिनु भएन। अनि म के गरुँ?’, उनले भनिन्।

मंसीर ९ गते मेडिसिटीमा भर्ना गरेको बिरामी छोरालाई ७ हप्तासम्म त्यहाँ उपचार गराएर कायस्थ दम्पत्तिले पुस ३० गते घर(बनेपा) ल्याएका हुन्।

‘मन्त्रालयबाट एक पटकलाई उपचार खर्च व्यहोर्छौ। तर यसपछि व्यहोर्दैनौं भनेपछि म त छाँगोबाट खसेझैं भएँ। मेरो मुकेश बिरामी नहुन्जेल त केही छैन, कथंकदाचित उ बिरामी भयो भने उसले सरकारबाट उपचार नपाउने?’, मीराले प्रश्न गरिन्।

नेपाल सरकार, मन्त्री परिषदको २०६८ असार २२ को निर्णयले मुकेशको औषधोपचारको खर्च नेपाल सरकारले व्यहोर्ने उल्लेख छ। ‘तर, निर्णय भएको ७ वर्ष नबित्दै एक पटकलाई मात्रै भनेर हामीलाई किन पीडा दिइयो। १३ वर्षदेखिको अर्धचेत छोरालाई कसरी हुर्कायौं होला, अहिलेका ब्यूरोक्रेटको व्यवहार सम्झँदा आँसुका धारा बहन्छ’, मीराले दुःख पोखिन्। यतिखेर नाकबाट खाना खुवाउन समस्या भएपछि मुकेशको पेटमा प्वाल पारिएको छ। त्यही प्वालबाट खाना खुवाउने गरिएको छ।

मुकेशलाई प्रधानमन्त्री केपी शर्मा ओली(अघिल्लो कार्यकालमा), तत्कालीन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाललगायत उच्च सरकारी पदाधिकारीहरुले निवासमै आएर भेट गरी सरकारको तर्फबाट उपचारमा कमी नहुने प्रत्याभूति दिइसकेका छन्। तर, पछिल्ला केही वर्षदेखि कोही पनि मन्त्री, नेता र सरकारी प्रतिनिधि मुकेशको अवस्था बुझ्न आएका छैनन्। प्रदेश नम्बर ३ ले शहीद दिवसमा बिदा घोषणा गरे पनि यी घाइतेलाई भेट्न प्रदेशका मन्त्रीलगायत प्रदेश सांसदसमेत नआएका मीराको भनाई छ।

एक पटक राष्ट्रिय शहीद तथा शान्ति पार्क(स्मारक)निर्माण कार्यदलका अध्यक्ष सुदर्शन सिग्देलले मुकेशलाई पार्कमा बस्ने व्यवस्था मिलाउन सकिने भनि कायस्थ दम्पत्तिलाई प्रस्ताव राखेका थिए। तर, मीराको सुझाव थियो, ‘एकजना मुकेशलाई स्याहारसुसार तथा ओखतीमूलो गर्न डाक्टर नर्स खटाउनु भन्दा सरकारले त्यस्तो ठाउँ बनाइदिओस्। जहाँ मुकेशजस्ता अर्धचेत घाइते र विदेशमा ‘कोमा’मा भएका नेपालीहरुलाई ल्याएर राख्न सकियोस। एक जनालाई हेर्ने जनशक्तिले धेरैलाई हेर्न सक्छ’, उनले थपिन्।

मीराको सुझावमा पति कृष्णमान पनि सहमत छन्। ‘काभ्रेमा सरकारी अस्पताल छैन। यस्तै व्यवस्था भएको सरकारी अस्पताल खोलिदिएमा हाम्रो मुकेशको योगदानको कदर हुन्थ्यो’, उनले भने।

हुनत, यस अघि पनि २०६६ साल असोज २२ गते तत्कालीन सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमले मीनभवनस्थित निजामती सेवा अस्पतालको एउटा शल्यक्रिया कक्षलाई ‘जनआन्दोलनका योद्धा मुकेश कायस्थ  कक्ष’को रुपमा घोषणा गर्ने भनि बनेपामै आएर परिवारको सहमति लिएका थिए। ‘तर, त्यहाँसमेत जनआन्दोलनका योद्धा उल्लेख नगरी मुकेशको नाममात्रै उल्लेख गरिएको रहेछ। जनआन्दोलनका योद्धा लेख्न सरकारलाई केले रोकेको होला?’, मीराले प्रश्न गरिन्।

बनेपा, अरनिको राजमार्गनजिकैको घरमा अर्धचेत अवस्थाका मुकेशको सुसार गरिरहेका कायस्थ दम्पत्तिले नागरिककर्मीसँगको भेटमा भने, ‘हाम्रो मुकेश त्यतिकै बाँचेको होइन, राज्यलाई खबरदारी गर्न हो। हाम्रो छोरा शहीदको प्रतिबिम्व हो। उसले नेताहरुलाई खबरदारी गरिरहे झैं लाग्छ। लोकतन्त्र आयो, जनताको संविधान आयो। तर, संघीय नेपाल भएर मुलुक जुन बाटोमा हिँड्नु पथ्र्यो, अझै हिँडेको छैन। छोराको भन्दा पनि नेपाल आमाका धेरै छोराहरुको बलिदानी खेर जान्छ कि भनेर रुन मन लाग्छ’, कायस्थ दम्पत्तिले एकै स्वरमा थपे।      मुकेशलाई सुसार गर्दै आमा मीरा।

    

प्रकाशित: १६ माघ २०७५ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App