१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई हजार ८ सय ७ सुरक्षाकर्मी शहीद

काठमाडौँ- सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ।  सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो। सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई शहीद घोषणा गरिएको बताए।

शहीद घोषणाले हिजोका दिन भएको असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे।

छोटो समयमा सशस्त्र प्रहरी बलले असाधारण रूपले प्रगति गरेकामा उनले प्रशंसा गरे। लोकतन्त्र प्राप्तिको कठिन यात्रा सफलताका साथ पूरा गरेर नमूनायोग्य र अनुकरणीय काम गरिएको स्मरण गर्दै उनले शान्ति प्रक्रियाका अवशेष अझै बाँकी रहेकाले खाटो बसेको घाउमा मलम लगाउने बेला आएको बताए।

उनले भने, “विभिन्न बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने, जनतालाई आतङ्कित पार्ने, शान्ति र सुव्यवस्था छैन भन्ने परिस्थिति सिर्जना गर्ने वा राष्ट्रिय अखण्डतामै असर पार्नेेजस्ता देशद्रोही क्रियाकलाप हुन दिइने छैन”, उनले भने।

उनले शान्ति हामी सबै नेपालीको साझा आकाङ्क्षा हो भन्दै देशको गौरव प्रतिष्ठा र सम्मान आज बढेको बताए। उनले विश्व आर्थिक मञ्चले ४९ वर्षमा पहिलो पटक नेपाललाई सम्झेको र डाभोस बैठकमा नेपालको विचार, दृष्टिकोण, अवस्था र आकाङ्क्षालाई प्रष्टरुपमा बताए। रासस

 

 

प्रकाशित: १५ माघ २०७५ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App