१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

गाउँले लालपुर्जाविहीन

लालपुर्जाविहीन मानिसहरू बस्ने फुल्चिङ गाउँ। तस्बिर : विष्णु/नागरिक

डोल्प - जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जमिन छैन। घरअगाडिको प्रशस्त जमिनमा मिहिनेतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्किल पर्छ। कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तल्सिङलाई बुझाउनुपर्छ। गाउँमा उनको परिवार बसेको कैयौं पुस्ता बितिसकेको छ। जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन। केही फुल्चिङवासीसँग जमिन त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन। भएका सबै नम्बरी जग्गा अन्य गाउँका चार व्यक्तिको नाममा रहेकाले त्यहाँका बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका हुन्।

फुल्चिङगाउँमा ६५ घरधुरी छ। तीमध्ये २३ परिवारको नाममा एक टुक्रा पनि जमिन छैन। बाँकी परिवारसँग अलिअलि जग्गा भए पनि सबै ऐलानी हो। ‘वर्षभरि खनजोत गरेर बालीनाली लगाउँछौं। घरमा भित्र्याउने बेला जग्गाधनी आएर ६० प्रतिशत लैजान्छन्,’ अधियाँ खेती गर्दै आएकी हिउँकली चलाउनेले भनिन्, ‘वर्षभरिमा तीन महिना पनि खान पुग्दैन। नदिऊँ भने भने आफ्नो जग्गा होइन, भोकै पर्ला भनेर तल्सिङले बुझ्ने होइन।’

फुल्चिङगाउँको जग्गा फरक गाउँ र वडाका चारजनाकोे नाममा नापीनक्सा भएको स्थानीयको भनाइ छ। साबिकको लिकु गाविस र हालको त्रिपुरासुन्दरी नगरपालिका–१० का मोतीप्रसाद पहाडी, रत्नप्रसाद पहाडी, नारायण गिरी र रविलाल खत्रीका नाममा २०५२ मा सिंगो गाउँको जग्गा नापीनक्सा भएको पाइएको छ। पुस्तौंदेखि आफूहरूले जग्गा कमाउँदै आएको र जग्गाधनीहरू त्यस गाउँमा नबस्ने भएकाले आफूहरूलाई धेरथोर मूल्य मिलाएर दिनुपर्ने फुल्चिङका समाजसेवी लोकबहादुर चलाउने बताउँछन्। पुर्खाको पालामा देवीदेवताको भ्रममा पारेर र राजनीतिक रबाफ देखाएर सिंगै गाउँको जग्गा हडपेर लिकु गाउँका ठालु जमिनदारहरूले आफूहरूमाथि अन्याय गरेको उनको दाबी छ।
जग्गा मिलाउने विषय लिएर सम्बन्धित निकायमा धाएर न्याय दिलाइदिन पटकपटक माग गरे पनि कुनै सुनुवाइ नभएको भन्दै फुल्चिङकै अर्का बासिन्दा लालबहादुर चलाउने गुनासो गरे। ‘बस्ती बसालेदेखि नै अनेक दुःखकष्ट सहेर सबै जमिनमा आजसम्म भोगचलन गर्दै आएका छौं,’ उनले भने, ‘हानीले न्याय पाउनेपर्छ।’ जग्गाधनीले बेवारिसे अवस्थामा छाडेको भूमि भोगचलन गर्दै आइएकाले मोहियानी हकले समेत जग्गा फुल्चिङ गाउँवासीका नाममा हुनुपर्ने अर्का स्थानीय राजबहादुर चलाउनेको जिकिर छ।

फुल्चिङगाउँमा ६५ घरधुरी छ। तीमध्ये २३ परिवारको नाममा एक टुक्रा पनि जमिन छैन। बाँकी परिवारसँग अलिअलि जग्गा भए पनि सबै ऐलानी हो।

कानुनी व्यवस्थामा के छ
भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले लगातार २० वर्ष जग्गाधनीको जग्गा भोगचलन गरे स्वतः ५० प्रतिशत मोहियानी हक कायम रहने व्यवस्था रहेको र यसैको दफा २६ (घ) को २ ले लगातार २० वर्ष निरन्तर भोगचलन गर्ने व्यक्तिले आफूलाई मोहियानी कायम गराई पाऊँ भनी निवेदन दिए वा त्यस्तो अवस्था देखिए सरकारले तोकेको अधिकारीले ७ नम्बर फाँटवारी र उपलब्धसम्मका प्रमाण र गाउँ मुचुल्काका आधारमा जग्गाधनी र जग्गा कमाउँदै आएका व्यक्तिबीच मोहियानी हकअन्तर्गत ५० प्रतिशत हक कायम गरि बाँडफाँड गरिने कानुनी व्यवस्था छ।

सशस्त्र द्वन्द्वको आश्वासन पूरा भएन
सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले लिकुका सामान्तहरूले फुल्चिङमा आएर देवता नाममा र राजनीतिक शक्तिको आडमा जग्गा कब्जा गर्न नमिल्दे भन्दै कारबाही गर्ने बताएको स्थानीय बताउँछन्। ‘सर्वहारा जनतालाई हाम्रो पार्टीले जग्गा कब्जा गरी गाउँलेलाई बाँडिदिन्छ, अब जग्गाधनीलाई अधियाँ दिनुपर्दैन’ भन्दै झन्डै १० वर्ष सबै उब्जनी आफूहरूले नै राखेको उनीहरूको भनाइ छ। शान्ति प्रक्रियापछि आफूहरूका नाममा माओवादीले जग्गा दिलाउन नसकेपछि पुनः अधियाँ दिने प्रक्रिया सुरु भएको सोही गाउँका लोकबहादुर चलाउनेले बताए।

उनले भने “देवताकै नाममा जग्गा नापी हुन्छ भने आफुहरु सिकमाना देवतालाई चढाएर बचेको भोगचलन गर्न हामीहरु सहमत छौ तर देवताको त्रास देखाएर ब्यक्तिको नाममा जग्गा हुनु हुदैन यो सरासर अन्याय हो यसको बिरोध हुन्छ।”

के भन्छन् जग्गाधनी
फुल्चिङ गाउँको ४० प्रतिशत जग्गा आफ्नो नाममा रहेको बताउने डोल्पाका भूतपूर्व मन्त्री तथा समाजसेवी मोतीप्रसाद पहाडी कहिलेदेखि फुल्चिङ गाउँ थियो भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन्। पुर्खौंपुर्खादेखिको अस्तित्व जोडिएको जग्गा भएकाले सन्तानका नाममा नापीनक्सा हुँदै आएको उनको दाबी छ। फुल्चिङको जग्गा बेचेर आफूलाई खानुपर्ने अवस्था नरहेको र पहिलादेखि कुन सर्तमा जग्गा रहँदै आएको छ भन्ने बुझी कुलाम्य देवताको आदेश भए फुल्चिङवासीलाई निःशुल्क जग्गा दिन तयार रहेको पहाडीले बताए।

त्यस्तै अर्का जग्गाधनी रविलाल खत्रीले पनि आफूहरूको फुल्चिङ गाउँमा रहेको जग्गा कब्जा गरेर सिंगो गाउँलाई सुकुम्बासी बनाउने नियत र सम्भवावना नभएको बताए। तर फुल्चिङवासीले बारम्बार व्यक्त गर्ने अभिव्यक्ति र आक्षेपमा सुधार गर्नुपर्ने उनको भनाइ छ। देवताको सोझो गर्ने उपाय निकालेर सहमतिमा धेरथोर मूल्यमा जग्गा दिन तयार रहेको उनले स्पष्ट पारे। अन्य दुईजना जग्गाधनीको विचार पनि खत्रीको जस्तै छ।

जग्गा किनबेचमा देवता बाधक
त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुस्थित बिजुलडाँडा र बर्जमान नामक कुलाम्य देवता फुल्चिङको जग्गा किनबेचका लागि बाधक बनेको बताइन्छ। बस्ती बस्दाको समयमा लिकु गाउँबाटै फुल्चिङ गाउँमा चलाउने थरका एकजना गएर बसेको र त्यहाँको जग्गाजमिन भोगचलन गर्ने क्रममा परिवारमा अशुभ भएपछि पुनः बिजुलडाँडा र बर्जमान देवतासँग सोधनी गर्न गएका थिए।

उब्जनी भएको निश्चित अन्नबाली देवतालाई चढाएर जग्गा पुजारीको नाममा राख्नु ठीक हुन्छ भनेदेखि नै जग्गा पुरै देवताको पुजारी खलकको नाममा रहन गएको जनश्रुति छ। २०२६ सालतिर पनि भूमिसुधार लागू हुँदाको बखतमा पुरै जग्गाको मूल्य २७ हजार पाँच सयमा बिक्री गरी जग्गाधनी गए पनि पछि जग्गा किन्ने र बेच्ने देवता लागेर मर्न थालेपछि पुनः जग्गा लिकु गाउँकै मानिसहरूको नाममा रहनेगरी भोगचलन हुँदै आएको थियो।

प्रकाशित: ५ माघ २०७५ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App